बिर्तामोडमा बाँडियो सित्तैमा खाना, पहिलो दिन ५०० जनाले खाए



 

झापा–पहिलो चरणमा राहत वितरणपछि ‘एकका लागि एक’ अभियानले झापाको बिर्तामोडमा आजदेखि खाना खुवाउन सुरु गरेको छ । अशक्त र सडक आश्रितलाई लक्षित गर्दै अभियानले खाना खुवाउन सुरु गरेको अभियानका परिकल्पनाकार एवम् संयोजक महेन्द्रकुमार गिरीले बताए ।

कोरोना भाइरसको त्रासका कारण सरकारले गरेको देश लक डाउनको समयावधि लम्विँदै जाँदा धेरै नागरिक छाक छार्न नसक्ने अवस्थामा पुगेका छन् । दैनिक मजदूरी गरेर जीविकोपार्जन गर्नु पर्ने अवस्थाका नागरिक भोकभोकै परेको अवस्थालाई मध्यनजर गर्दै अभियानले खाना वितरण सुरु गरेको हो । सडकमा अलपत्र परेका, सडकमा आश्रित, विपन्न र विरामीका कुरुवालाई खाना खुवाउन थालिएको छ ।

आइतवार विहानदेखि बिर्तामोडको वानस्टप मल अगाडिबाट तयारी खानाको प्याकेट वितरण सुरु भएको अभियानको तयारी खाना व्यवस्थापन उपसमितिका संयोजक सञ्जीव घिमिरेले बताए । उनका अनुसार दैनिक एकहजार मानिसलाई खाना खुवाउने अभियानको तयारी छ । पहिलो दिन ५०० जनाले खाना खाएका छन् ।

‘लक डाउन नखुलेसम्म अभियानले हरेक दिन तयारी खाना बाँड्छ’, उनले भने, ‘यसका लागि बिहान ९ देखि १२ बजेसम्मको समय छुट्ट्याएका छौँ ।’ अभियानले कनकाई कोटीहोमका जेष्ठ नागरिकलाई पनि खाना वितरण गर्ने उनले बताए । हस्पिटलमा रहेका विरामीका कुरुवाले पनि खाना पाउने छन् ।

अभियानले सादा बीर्यानी र एक बोतल पानी बितरण गरिरहेको छ । अभियानको काउन्टरबाट खाना लिने र आफ्नै ठाउँमा गएर खानु पर्ने गरी व्यवस्थापन मिलाइएको घिमिरेले जानकारी दिए । प्रारम्भिकरुपमा बिर्तामोड सुरुङ्गा हुँदै खाना वितरण अभियान काँकडभिट्टासम्म विस्तार हुनेछ ।