सीमा अतिक्रमणको विरोधमा बुद्धशान्तिमा नेविसंघको प्रदर्शन



बुधवारे– सीमा अतिक्रमणको विरोधमा नेविसङ्घले बुद्धशान्ति गाउँपालिकामा आइतवार प्रदर्शन गरेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय अतिक्रमण जारी रहेपछि नेविसङ्घ बुद्धशान्तिले विरोध जनाएको हो ।

भारतले लिपुलेकबाट चीन जाने सडक उद्घाटन गरेपछि यसको चर्काे विरोध भइरहेको छ । विरोधमा नेविसङ्घले प्रदर्शन गर्दै ‘गो ब्याक इन्डिया’, भारतीय विस्तारवाद मुर्दाबाद, ‘लिपुलेक कालापानी हाम्रो हो’ लगायतका नारासहित राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरेको नेविसङ्घ बुद्धशान्तिका सभापति नरेश लावतीले बताए ।

कुनै प्रकारको कुटनीतिक पहल नगरी गैरजिम्मेवारीपन देखाएका कारण सरकारको समेत विरोध गरिएको जिल्ला सञ्चार विभाग प्रमुख गोकुल पौडेलले बताए । विरोध कार्यक्रममा नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर–२ का सभापति खगेन्द्र मैनाली, तरुण दल जिल्ला सदस्य तथा नेपाली काङ्ग्रेस बुद्धशान्ति कोषाध्यक्ष मनिष दाहाल, नेविसङ्घ सहसचिव मिलन चापागाई, उपसभापति दिनेश खतिवडा, नेविसङ्घ मनकामना इकाइ समिति सभापति डेभिड श्रेष्ठ लगायत सहभागी थिए ।