सीमाका विषयमा सिधैँ मोदीसँग कुरा गर्न चाहन्छन् प्रधानमन्त्री ओली



काठमाडौँ– भारतले लिपुलेक हुँदै चीनसँग जोड्ने व्यापार मार्ग खोलेपछि नेपालले कुटनीतिक पहल अगाडि बढाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् आपत्ति जनाएपछि भारतको विदेश मन्त्रालयले पनि विज्ञप्तिमार्फत् जवाफ दिएको छ । तर, कुटनीतिक तहमा औपचारिक वार्ता हुन सकेको छैन ।

लिपुलेकको विषयमा नेपालले भारतसँग कुटनीतिक तहमा कुराकानी अगाडि बढाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । दुवै देशका प्रधानमन्त्रीबीच टेलिफोन या भिडियो कन्फरेन्समार्फत् वार्ता गराउन नेपाली पक्षले पहल गरिरहेको छ ।

कोभिड १९ का कारण तत्काल सम्भव नभए पनि लगत्तै सचिवस्तरीय कुराकानी हुने भएको छ । भारतले कोरोना भाइरससँग जुध्नु परेकाले लिपुलेकका विषयमा केही समयपछि कर्मचारी तहमा कुराकानी गर्ने चाहना व्यक्त गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली लिपुलेकका विषयमा अझै मौन छन् । उनले यसबारे सिधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न खोजिरहेका छन् । बाहिर बोलेर भन्दा प्रधानमन्त्री तहमा कुरा गरेर या जिम्मेवार अधिकारीहरुलाई जिम्मेवारी दिएर लिपुलेकको सवालमा समस्या समाधानका लागि कुटनीतिक पहल गर्न प्रधानमन्त्री ओली गम्भीर भएको निकटवर्तीहरु बताउँछन् ।

भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारत र नेपालले सीमाको विषयमा छलफल गर्न मेकानिजम बनाएको र अहिले उठेका सीमा समस्या कुटनीतिक वार्ताबाट समाधान गरिने बताए ।