बिर्तामोडमा भीड जम्मा गर्न कसको आदेशमा खोलियो कृषिथोक ? नगरपालिका भन्छ, ‘हामीलाई थाहा छैन’



 

बिर्तामोड– लक डाउन उलङ्घन गर्ने क्रम तीव्र भइरहेका बेला करिव डेढ महिनादेखि बन्द रहेको कृषिथोक बजार खुलेको छ । मंगलवारदेखि कृषिथोक बजार खुलेको हो ।
यसअघि कृषिथोक बजारमा अत्याधिक भीड भएको र यसले कोरोना सङ्क्रमणको उच्च जोखिम निम्त्याउने भन्दै बिर्तामोड नगरपालिकाले अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

बजारमा देखिएको अनियन्त्रित भीड व्यवस्थापन गर्न सुरक्षा निकायलाई हम्मेहम्मे परिरहेका बेला व्यापारिक समूहको तीव्र दवावमा कृषिथोक बजार खुलको छ । तर, बिर्तामोड नगरपालिकाले भने कृषिथोक बजार खोल्ने जोखिम आफूले नउठाएको जनाएको छ ।

कृषिथोक खोल्न पाउनुपर्ने माग राख्दै व्यवसायीले दवाव दिएपछि नगरपालिका आफ्नो पूर्ववत निर्णयबाट पछाडि सरेको चर्चा चलिरहँदा नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले कृषिथोक बजार खोल्ने कुनै निर्णय नभएको बताए ।

‘कृषिथोक बजार खोल्नु हुँदैन भन्नेमा नगरपालिका स्पष्ट छ’, प्रवक्ता पाण्डेले भने, ‘यस विषयमा कुनै निर्णय भएको छैन । बजार खोलिएको विषयमा हामी पनि बुझिरहेका छौँ ।’

कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समिति झापाले आवश्यक मापदण्ड पूरा गर्दै पसलहरू चार घण्टा खुला गर्ने निर्णय गरेपछि कृषि बजार खोल्न पाउनु पर्ने माग उठेको थियो ।

मंगलवार विहान अचानक कृषिथोक बजार खुलेको स्थानीय बताउँछन् । भारतबाट तरकारी आयात गर्ने व्यापारिक समूहको दवावमा बजार खुलेको भनिए पनि कसले अनुमति दियो भन्ने विषयमा खुलेको छैन ।

नगरपालिकाले समेत यसको जिम्मेवारी नलिएपछि कसको निर्देशन र आदेशमा यसअघि बन्द रहेको कृषिथोक बजार खुलेको हो भन्ने प्रश्न उठेको छ । यसअघि भीड बढेको भन्दै नगरपालिकाको आदेशमा कृषिथोक बन्द गरिएको समाचार सार्वजनिक भएको थियो ।

इलाका प्रहरी कार्यालय विर्तामोडले पनि कृषिथोक बजार खोलिएपछि सर्वसाधारणको भीड बढ्ने भन्दै यसलाई थाम्न हम्मे हम्मे पर्ने बताएको छ । डीएसपी मुकुन्द रिजालले तीनदिनयता बिर्तामोड बजार क्षेत्रमा अनियन्त्रिरुपमा भीड बढेको भन्दै प्रहरी एक्लैले यसलाई रोक्न कठिन भइरहेको बताए ।

सर्वसाधारणले पनि कृषिथोक बजार खुलेपछि जोखिम बढ्ने भन्दै सरोकारवाला निकायहरु गैरजिम्मेवार हुन थालेको टिप्पणी गरेका छन् । ‘त्यहाँभित्र हुने भीड व्यवस्थापन गर्ने कसले ?’, बिर्तामोडका स्थानीय कृष्णदास चौलागाई भन्छन्, ‘कृषिथोकमा भीड बढ्नु भनेको बिर्तामोडका लागि सबै भन्दा ठूलो जोखिम हो ।’

अहिले स्थानीय किसानले उत्पादन गरेको तरकारी घर–घरमा सुपथ मूल्यमा उपलब्ध भइरहेका बेला कृषिथोक खोल्ने निर्णय गर्नु आपत्तिजनक रहेको उनले सुझाए ।