साँच्चै तपाईंलाई थाहै भएन प्रधानमन्त्रीज्यू ?



 

लक्ष्मी काफ्ले

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,
उमेरले ६८ वर्षमा हिँडिरहनुभएको तपाईं म २७ वर्षको युवकभन्दा निकै बलियो हुनुहुन्छ । श्रम गर्न विदेशिएको म बढीमा १२ घण्टा पसिना बगाउँदैछु । मेरो बेग्लै सपना छ । परिवारलाई सुखी बनाउनु छ । सुन्दर घर बसाउनु छ । खुसीसाथ बाँच्नु छ ।

हुनत तपाईंका पनि सपना यस्तै हुन् । तर, तपाईंका सपना अलिक फराकिला छन् । देशबासीलाई खुसी बनाउनु छ । सुन्दर मुलुक बनाउनु छ । सारा नेपालीलाई खुसी देख्नु छ । तपाईंका सपना यिनै हुन् । सुनेको थिएँ, यही सपना साकार पार्नका लागि तपाईं १८ घण्टासम्म काम गर्नुहुन्छ । कम सुत्नुहुन्छ । अरुको ख्याल राख्नुहुन्छ । आफ्नो स्वास्थ्यको कहिल्यै ख्याल गर्न जान्नुभएन । त्यसैले त बिरामी परिरहनुहुन्छ । उमेर छँदा १४ वर्ष जेल बसेर यातना सहनुभएको तपाईं अहिले ७० वर्ष पुग्न लाग्दा पनि आराम गर्नुहुन्न । यस्तै सुन्छु म ।

प्रधानमन्त्रीज्यू, मेरो बुवा पनि यस्तै हुनुहुन्छ । परिवारका सदस्यलाई पिर हुन्छ भनेर बिराम लुकाउनुहुन्छ । हामीले सहनै नसक्ने दुखाइ उहाँ भने कति मजाले सहनुहुन्छ । सहँदासहँदै भित्रभित्रै रोगले झनै असर गरिसकेपछि मात्र हामी थाहा पाउँछौँ । अनि गाउँका अस्पतालमा उपचार सम्भव हुँदैन । सहर नै लैजानुपर्छ । तपाईंको काम गराइ, मेहनत अनि बिराम सहन सक्ने क्षमताबारे सुन्दा म मेरो बुवा सम्झिन्छु ।

मैले सुनेको छु, तपाईं राति ११ बजेसम्म त भेटघाटमै बिताउनुहुन्छ । सुत्नलाई कोठामा प्रवेश गरेर पनि ओछ्यानमा जानुहुन्न । झण्डै उज्यालो हुने बेलासम्म पढ्नुहुन्छ । देश विदेशका समाचार हेर्नुहुन्छ । दुई–तीन घण्टा मात्र निदाउनुहन्छ तपाईं । युवा नेताहरुलाई पढ्नुपर्छ भनेर झक्झक्याइरहनुहुन्छ । आफ्ना गृहजिल्लाका युवालाई त झन् ‘तिमीहरु पढ्दै पढ्दैनौ’ भन्दै गाली पनि गर्नुहुन्छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–७ बाट तपाईं पराजित हुँदा म १४ वर्षको थिएँ । ७ कक्षामा पढ्थेँ । मैले पहिलो पटक तपाईंको नाम सुनेको त्यही बेला हो । मान्छेले जित्नेहरुलाई सम्झिन्छन् । जित्नेकै इतिहास खोतलेर पढ्छन् । तर, खै किन हो मैले चाहिँ चुनावमा पराजित केपी ओलीलाई चिनेँ । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा सोही क्षेत्रबाट तपाईं विजयी बन्दा म पत्रकारितामा आइसकेको थिएँ । त्यसपछिका हरेक दिन म तपाईंलाई नजिकबाट नियालिरहेको छु ।

पहिलो पटक तपाईं २४ असोज २०७२ मा प्रधानमन्त्री बन्नुभयो । तपाईं पहिलो पटक प्रधानमन्त्री बन्ने दौडमा हुँदाको एउटा भेट स्मरणीय छ । ३ साउनमा तपाईं बिर्तामोडस्थित पार्टी कार्यालयमा आफ्ना कार्यकर्तासँग भेटघाट गर्न आउनुभयो । कार्यालयको माथिल्लो तलाको हल भरिभराउ थियो । अग्रभागमा हामी पत्रकार थियौँ । लगभग ४५ मिनेट तपाईंले आफ्ना धारणा राख्नुभयो । तपाईंको ठीक सामुन्नेमा म थिएँ ।

मन्तव्यका क्रममा नागरिकको अधिकार, कर्तव्य र जिम्मेवारीबारे प्रष्ट पार्दा तपाईंले महिलालाई मिनीस्कर्ट लगाउन र युवालाई कुण्डल लगाएर हिँड्न पनि छुट हुने धारणा राख्नुभयो । तपाईंले त्यो धारणा राख्दै गर्दा मेरो एउटा कानमा कुन्डल देख्नुभयो । अनि तपाईंले भन्नुभयो, ‘यी बाबुले एउटा कानमा मात्र लगाएका रहेछन्, अर्कोमा पनि लगाउ बाबु ।’ त्यसपछि हलमा लामो हाँसो गुञ्जियो । फेरि तपाईंले भन्नुभयो, ‘यसमा हाँस्ने कुरा के छ र ! भगवान राम र कृष्णले पनि लगाएका थिए । उमेरमा मैले पनि त लगाएको थिएँ ।’ कुन्डल लगाउन, कपाल पाल्न मन पराउने म तपाईंको त्यति दुई वाक्यले कति धेरै हौसिएँ ।

भोलिपल्टदेखि मलाई देख्नेजतिले अर्को कानमा कुन्डल कहिले लगाउने भन्दै प्रश्न गरिरहे । कहिलेकाहीँ घर जाँदा आमाले पनि दुईवटै कानमा लगाउन कर गर्नुहुन्थ्यो । बुवालाई भने मैले कानमा कुन्डल लगाएको, कपाल पालेको मन पर्दैनथ्यो । तर प्रधानमन्त्रीज्यू, मैले दुईवटा कानमा कुन्डल लगाउने कुरा त परै छाडौँ, भएको एउटा पनि फुकाल्नुप¥यो । वर्षौंदेखि मुन्द्रो लगाएको मेरो दाहिने कान अहिले रित्तै छ । रक्षाबन्धनमा बहिनीले दाहिने हातमा बाँधिदिएको डोरो नेपालमै छुट्यो । म प्रवासमा दैनिक घण्टौँ काम गर्छु । यहाँको नियम कानून अर्कै छ । अरुको अधिनमा बस्नुपर्छ । त्यसकारण मैले नेपालमै कुन्डल, ब्रास्लेट र जनै फुकालेर मात्र जहाज चढेँ । जहाज चढ्नुभन्दा केही हप्ताअघि नै मेरो लामो कपाल पनि ‘आर्मीकट’मा काटियो ।

प्रधानमन्त्रीज्यू, म तपाईंको काम गर्ने शैलीको फ्यान नै थिएँ । नाकाबन्दीका बेला तपाईंको अडान कसले बिर्सिन सक्ला र ! आफूलाई जे ठीक लाग्छ त्यो गरिहाल्नुहुथ्यो । ठ्याक्कै मेरो बुवाजस्तै । कसैको काम गराइमा चित्त बुझेन भने ठाडै गाली गरेर ग्वाँ बनाउनुहुन्थ्यो, मेरो बुवाले जस्तै । हार्न चाहनु हुन्न थियो, आफूले भनेका र गर्न थालेका सबै काम पूरा हुनैपथ्र्यो । प्रायः बानी मेरो बुवासँग मिल्छन् । मात्र पार्टी मिलेन ।

मैले थाहा पाउँदा मेरा बुवाआमा कांग्रेसलाई भोट हाल्नुहुन्थ्यो । रुख चिन्ह भएका स–साना दुईवटा कार्ड दराजमा थिए । आमा गिरिजाप्रसाद कोइरालालाई मन पराउनु हुन्न थियो । तर, कांग्रेसलाई माया गर्नुहुन्थ्यो । मलाई याद छ, २०६४ को निर्वाचनमा मैले आमालाई सूर्यमा भोट हाल्नु है भनेँ । यसको अर्थ यो होइन कि म कम्युनिष्ट थिएँ । खै किन हो, किशोर अवस्थामा मलाई एमाले मन परेको थियो । आमाले भन्नुभयो, ‘तँ जेसुकै भन् कान्छा, सँगेल दिने त रुखैले हो ।’ भोट हालेर फर्किएपछि कुन चिन्हमा छाप लगाउनुभयो भनेर मैले बुबाआमालाई सोधेँ । आमाले जवाफ दिनुभएन, बुवाले उल्टै मलाई गाली गर्नुभयो । म चुप लागेँ ।

प्रधानमन्त्रीज्यू, पत्रकारितामा आएपछि मैले तपाईंका कति धेरै समाचार लेखेँ । झापाका जुनजुन ठाउँमा तपाईं पुग्नुभयो, त्यहाँ म पुगेँ । कहिले तपाईं पुग्नुभन्दा घण्टौँ पहिले पुगेर पर्खिएँ, कहिले पछिपछि दौडिएँ । तपाईंले जे–जे बोल्नुभयो, त्यसको समाचार बनाएँ । तपाईंका आवाजहरु रेकर्ड गरेँ । सयौँ तस्बिर र फुटेजहरु खिचेँ । तपाईंका एक–एक हाउभाउ नियालेँ । तपाईंले पानी पिउने त्यो आकर्षक कपको पनि समाचार लेखेँ । तर, कोट लगाएका तपाईंका सुरक्षागार्डहरुले कहिलेकाहीँ हामी पत्रकारलाई साह्रै दुःख दिन्थे । धेरै पटक छातीमा समातेर धकेलेका छन् । तपाईं भएको ठाउँमा हाम्रो छायाँ पनि पुग्न दिँदैन थिए । बाझ्नु पनि परेको छ कति ठाउँमा त ।

म केही महिनाअघिसम्म पत्रकारिता गर्थें । पत्रकारितामा मेरो ८ वर्षको अनुभव रहयो । जिल्लामा अलिअलि चिनिने त भएँ । तर, यी ८ वर्षमा सपना पूरा हुने गरी दाम कमिएन । एउटा मोटरसाइकलबाहेक केही जोड्न सकिनँ । अन्त्यमा भएको त्यही मोटरसाइकल बेचेर म विदेशिएँ ।

म पत्रकारितामा रहँदा तपाईं र मबीच कयौँ पटक भेट भएको छ । हामीबीच दोहोरो कुरा त भएन । तर, म तपाईंको ‘फ्यान’ नै थिएँ । त्यसको पछाडि अरु कारण थिएन, मेरो बुवासँग तपाईंको स्वभाव मिल्ने भएकाले म तपाईंको फ्यान भएको हुँ । अहिले तपाईं साह्रै बिरामी पर्न थाल्नुभयो । दोस्रो पटक मिर्गौला फेर्नुभयो । तर पनि त्योबेलाको आत्मविश्वास कति दर्बिलो तपाईंको ! म असाध्यै खुशी भएँ त्यो आत्मविश्वासबारेका समाचार पढेर ।

पत्रकारितामा छँदा मैले कुनै दलको वा नेताको समर्थन गरिनँ । मलाई तपाईंको कार्यशैली मन पथ्र्यो । तर, अहिले केही महिनायता एकाएक मुलुकमा के हुँदैछ प्रधानमन्त्रीज्यू ? जतिजति अप्ठ्यारो परिस्थिति आउँछ देशमा, तपाईंलाई त्यति नै कमजोर पारिन्छ । तपाईंले काखी च्याप्नुभएको गोकुल सरले पनि चक्चक गर्नुभयो । प्रधानमन्त्री सचिवालयका प्रायः उस्तै छन् । कति पटक पो फेर्नु सचिवालय पनि ? एउटा घेराभित्र हुनुहुन्छ तपाईं । सीमित घेराभित्र । राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार, आइटी विज्ञदेखि मन्त्रीसम्मले तपाईंलाई साथ दिएनन् । फाइदा नै उठाए ।

लाजमर्नु भइसक्यो प्रधानमन्त्रीज्यू, कोरोनाले विश्व आत्तिएको बेला तपाईले अर्कै गोटी चालिदिनुभयो । त्यसपछि त के चाहियो ? आफ्नै पार्टीका लागिहाले तपाईंको खुट्टा तान्न । धन्न प्रतिपक्षी कमजोर रहेछ । तर, सत्तापक्षले नै पो खल्खली पारिदिए । चिनियाँ दूतको भरमा टिक्दो रहेछ सरकार त, टिक्यो ।

तर, फेरि बल्झियो सीमानाको घाउ । कसैगरी सुखसँग पाँच वर्ष बिताउन दिएनन् तपाईंलाई । मैले अघि भनेँ नि, तपाईं एउटा घेराभित्र हुनुहुन्छ, सीमित घेराभित्र । त्यो घेराले तपाईंलाई राम्रैराम्रा मात्र देखाउँछ, सुनाउँछ । नराम्राको छायाँ पनि पर्न दिँदैन । घाम लागेको बेला बाहिर लैजान्छन्, झलमल्ल देखाउँछन् तपाईंलाई । पानी परेको, हिलो भएको देखाउँदैनन् । त्यो घेराले तपाईंलाई पुल बनेको सुनाउँछ, स–साना ग्राभेल बाटो बनेको सुनाउँछ । तर, आफ्नै देशभित्र अर्को मुलुकको सेना पसेर धमाधम बाटो बनाएको तपाईंलाई थाहै दिँदैन । बाटो भत्केको, पुल बन्न नसकेको, पप्पुले काम नगरी पुल अलपत्र छाडेको सुनाउँदैन तपाईंलाई कसैले । तपाईं एक्लो हुनुभयो । कसैले साथ दिएन । केही थाहै हुँदैन । ‘मलाई थाहै थिएन’ भन्न बाध्य पारे तपाईंलाई । ‘मलाई थाहै भएन’ भनेको पहिलो पटक पनि होइन फेरि । साँच्चै नै तपाईंलाई थाहै भएन प्रधानमन्त्रीज्यू ?

एक वर्षअघिको कुरा गरौँ न, सुखानी स्मृति दिवसमा कमरेड प्रचण्ड र तपाईं सुखानीमा भाषण गर्न जाने कार्यक्रम तय भयो । तपाईंलाई बिर्तामोडबाट शनिश्चरे हँुदै सुखानी लगेनन् । अर्कै बाटो लगे । कारण, बिर्तामोड–शनिश्चरे–खुदुनाबारी हुँदै जाने बाटो नराम्रो थियो, खाल्डै मात्र थिए, त्यो तपाईंले देख्नुहुन्थ्यो । चारपानेबाट भित्रको एउटा सानो राम्रो बाटो हुँदै सुखानी पु¥याएपछि तपाईंले सबैतिर राम्रै मात्र देख्नुभयो । फर्किंदा पनि त्यही बाटो ल्याइयो । यस्तो छ तपाईंलाई घेरेर राख्ने टिमको नियत । अनि त के चाहियो ? देशमा सबै राम्रो छ, पत्रकारले नराम्रो मात्र देख्छन् भनेर पटक पटक रिस पोखिदिनुभयो नि ।

प्रधानमन्त्रीज्यू, म ठूलो फ्यान थिएँ तपाईंको, साह्रै ठूलो आशा थियो । अब त आशा सबै मारिसकेँ । चाहेर पनि केही नै गर्न सक्नुभएन तपाईंले प्रधानमन्त्रीज्यू । गर्न नदिनेहरुलाई पनि केही भन्न सक्नुभएन । मात्र मिडिया र मिडियाकर्मीलाई दोषी देख्न थाल्नुभयो । तपाईं केही देख्नुहुन्न, पत्रकार देखिदिन्छन् । देखेको कुरा देखाइदिन्छन् सबैलाई । अनि तपाईं छक्क पर्नुहुन्छ, त्यहाँ पत्रकार चाहिँ कसरी पुग्यो भनेर ।

प्रधानमन्त्रीज्यू, म अझै पनि भन्छु, यो मुलुकलाई तपाईंको खाँचो छ । नेपालीको सुन्दर भविष्यका लागि तपाईं अलिक दह्रो हुनैपर्छ । हामीजस्ता युवाले मात्र होइन, बृद्धभत्ता थापिरहेका हजुरबुवा हजुरआमाले पनि तपाईंबाट धेरै आशा राखेका थिए । भर्खर विद्यालय जाँदै गरेका बालबालिका तपाईंका फ्यान थिए । झापाका जुनसुकै कार्यक्रममा तपाईं सहभागी हुँदा काखमा बच्चा पुगेकै हुन्थे । बच्चाले पनि असाध्यै माया गर्थे तपाईंलाई । तपाईं बच्चासँग रमाएको भिडियो अझै छ मसँग । तपाईं पूर्ण रुपमा तन्दुरुस्त भएर देश निर्माणमा जुट्न सक्नुहोस्, म भगवानसँग यही प्रार्थना गर्ने छु । ढिलोचाँडो म नेपाल फर्किएँ भने अवश्य तपाईंलाई भेटेर हात मिलाउनेछु । देश बचाउनुस् प्रधानमन्त्रीज्यू । म विनम्र आग्रह गर्छु, सम्हाल्नुस् देशलाई ।
यत्ति भन्न मन थियो मलाई, रिसानी माफ होस् ।