चिया निकासीमा भारतीय अवरोध, बोर्डद्वारा वाणिज्य मन्त्रालयलाई पत्राचार



 

झापा– राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तयारी चिया निकासीमा निरन्तर भइरहेको भारतीय अवरोध खुलाउन सरकारलाई अनुरोध गरेको छ । नेपाली उत्पादन निकासीमा भारतको पश्चिम बंगाल सरकारले रोक लगाएपछि बोर्डले अवरोध खुलाउन वाणिज्य मन्त्रालयमा अनुरोध गरेको हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णु भट्टराईले मन्त्रालयलाई पत्र पठाएर समस्यावारे अवगत गराइएको बताए । ‘मन्त्रालयले अवरोध खुलाउने विषयमा आवश्यक प्रक्रिया अघि बढाउँछ भन्ने आशामा छौँ’, निर्देशक भट्टराईले भने ।

पश्चिम बंगाल सरकारले लक डाउनको बहानामा चिया लगायत नेपालमा उत्पादित कृषिजन्य बस्तु निकासीमा अवरोध गर्दै आएको छ । निकासी रोकिएपछि झापा र इलाममा उत्पादित तयारी चिया गोदाममै थन्किएको छ ।

भारतले चियालगायत नेपाली कृषिजन्य उत्पादनको निकासीमा निरन्तर अवरोध खडा गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको हो । भारतबाट भने पैठारी जारी छ ।

मेची भन्सार  प्रमुख ध्रुवराज विश्वकर्माले पानीट्यांकी भन्सारले करिब एक महिनापछि गत शनिबारदेखि पैठारी खुला गरे पनि कुनै गाडी नपठाउन भनेको बताए ।  ‘नेपालबाट रित्तो गाडीसमेत नपठाउनू भन्नुको अर्थ निकासी गर्न रोकावट हो’, उनले भने ।

भारतको केन्द्रीय गृह मन्त्रालयले नेपालसहित बंगलादेश र भुटानसँगको व्यापार नरोक्न निर्देशन गरे पनि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीको ठाडो निर्देशनमा नेपाली वस्तु निकासी रोकिएको हो ।

झापा र इलाममा उत्पादितमध्ये ८० प्रतिशत चियाको बजार भारत हो । २० प्रतिशत मात्रै आन्तरिक खपत हुन्छ । वार्षिक करिब ४ देखि ५ अर्बको चिया भारत निकासी हुँदै आएको मेची भन्सार कार्यालयले जनाएको छ ।