भद्रपुरका निजी विद्यालयले दिएनन् तलब भत्ता, शिक्षकहरु नगरपालिकासँग न्याय माग्दै



 

भद्रपुर– कार्यरत संस्थागत विद्यालयले तलव नदिएपछि संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बन्दाबन्दीको बहानामा भद्रपुरका अधिकांश विद्यालयले तलब नदिएपछि समितिले नगर प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो ।

युनियन नगर समितिका अध्यक्ष द्रोण अधिकारीले चैत महिनासम्मको तलब भक्ता रोकेर संस्थागत विद्यालयले शिक्षकहरुमाथि अन्याय गरिरहेको बताए । ‘तलब रोकेर शिक्षक कर्मचारीमाथि अन्याय गरिएको छ’, ज्ञापन बुझाउँदै उनले भने ।

नगरपालिकाले अविलम्व न्यायका लागि पहल गरिदिनु पर्ने समितिको माग छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले समस्या समाधानका लागि नगरपालिका गम्भीर रहेको बताए । ‘विभिन्न बहानावाजी गरेर शिक्षक कर्मचारीको पारिश्रमिक रोक्ने कार्य कानुनविपरीत हुन्छ’, ज्ञापन बुझेपछि नगर प्रमुख श्रेष्ठले भने ।

विद्यालयको वार्षिक परीक्षा सञ्चालन गर्दा चैत पहिलो हप्ताभित्रै अधिकांश अभिभावकले वार्षिक शुल्क समेत तिरिसकेका छन् । तर, विद्यालयले भने बहना बनाएर शिक्षक तथा कर्मचारीको तलव रोकेका हुन् ।

समितिले यसअघि पनि अविलम्व तलव भत्ता उपलब्ध गराउन विद्यालयलाई आग्रह गरेको थियो । सुनुवाई नभएपछि समितिले नगरपालिकालाई आवश्यक प्रक्रिया अघि बढाईदिन अपिल गरेको हो ।

समितिले प्याब्सन भद्रपुरको नाममा शिक्षक कर्मचारीलाई दमन गर्न खोजिएकोप्रति पनि आपत्ति जनाएको छ । भद्रपुर नगर क्षेत्रमा ३३ वटा संस्थागत विद्यालय छन् । तीमध्ये तीन वटाले मात्रै चैत्र महिना सम्मको पूरै पारिश्रमिक दिएका छन् भने तीन वटाले आधा पारिश्रमिक दिएर पन्छाउन खोजेका छन् ।