विना प्रतिस्पर्धा फार्मेसी सञ्चालन गर्न दिने बुद्धशान्ति गाउँपालिकाको निर्णय विवादमा



तीर्थ तिम्सिना, बुधवारे– विना प्रतिस्पर्धा स्वास्थ्य बीमासहित फार्मेसी सञ्चालन गर्न दिइएपछि बुद्धशान्ति गाउँपालिकाको निर्णय विवादमा परेको छ । गाउँपालिकाको बैशाख २५ गते सम्पन्न एक सय दुई औँ कार्यपालिका बैठकले आरएमसी मेडिकल सेन्टर अर्जुनधारालाई स्वास्थ्य बीमासहित फार्मेसी सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

गाउँपालिकाले चार वर्षे सम्झौता गर्दै फार्मेसी सञ्चालन गर्न दिएपछि सरोकारावालाले विरोध जनाएका छन् । वार्षिक पाँच लाख रुपैँयाँ भाडा तिर्ने शर्तमा आरएमसी मेडिकल सेन्टरले फार्मेसी सञ्चालनको अनुमति पाएको हो । सम्झौता अनुसार प्रत्येक वर्ष १० प्रतिशतले भाडा बढ्छ ।

बुद्धशान्ति गाउँपालिकाले जेठ पहिलो सातादेखि सञ्चालनमा आउने गरी पाँच शैयाको ‘बुद्धशान्ति अस्पताल’ सञ्चालनको तयारी गरिरहेको छ । तर, आफ्नो कार्यकाल सकिन दुई वर्ष बाँकी रहँदा चार वर्षका लागि सम्झौता गरिएपछि स्थानीय औषधि व्यवसायी आक्रोसित छन् ।

स्थानीय औषधि व्यवसायीले फार्मेसी सञ्चालनका लागि चासो देखाएका भए पनि गाउँपालिकाले विना प्रतिस्पर्धा सेन्टरलाई अनुमति दिएको हो । स्थानीय व्यवसायी यसमा असहमत छन् । उनीहरुले गाउँपालिकाको निर्णय पारदर्शी हुनु पर्नेमा जोड दिए । सेन्टरले भन्दाबढी भाडा दिन तयार भए पनि गाउँपालिकाले आफूहरुलाई वेवास्ता गरेको उनीहरुको गुनासो छ ।

गाउँपािलकाका अध्यक्ष रमेशकुमार भुजेलले कार्यपालिका बैठकबाट यस सम्बन्धी निर्णय भएको बताए । प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले कार्यपालिका बैठकले अस्पताल तथा स्वास्थ्य बीमासहितको फार्मेसी सञ्चालन गर्न बुधबारे स्वास्थ्य चौकी व्यवस्थापन समितिलाई अख्तियारी दिएको स्पष्ट पारे । उनले कागजी प्रक्रियालाई मात्रै निरन्तरता दिएको र यस सम्बन्धि काम व्यवस्थापन समितिलाई जिम्मा दिइएको बताए ।

बुद्धशान्ति गाउँपालिका–३ का अध्यक्ष एवम् बुद्धशान्ति अस्पताल समितिका अध्यक्ष कमलप्रसाद उप्रेतीले कार्यपालिका र गाउँपालिकाको परिपत्र बमोजिम आफूले काम गरेको उल्लेख गरे । उनले भने ‘सबै तयारी पूरा भएपछि मलाई सम्झौताको जिम्मेवारी दिइयो, उहाँहरुकै निर्देशन बमोजिम मैले काम गरेको हुँ ।’

स्वास्थ्य बीमा ऐन २०७४ तथा स्वास्थ्य बीमा नियमावली २०७५ अनुसार टेन्डर खोल्ने प्रक्रिया स्पष्ट नभएकोे र बीमा बोर्डले पनि स्थानीय सरकारले निर्णय गरेर व्यवस्थापन समितिमार्फत काम अगाडि बढाउन सकिने जानकारी गराएपछि त्यसो गरिएको गाउँपालिकाले जनाएको छ ।