बढ्दैछन् कोरोना सङ्क्रमित, संख्या २५८ पुग्यो



 

झापा– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ५८ पुगेको छ। शुक्रवार बिहान ९ जना थपिएका हुन् । नेपालगञ्जमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार बाँके नैनापुर वडा १,३ र ५ का १८ देखि ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो। यस्तै वाग्मती प्रदेशको मकवानपुरमा समेत भाइरसको संक्रमण देखिएको छ। मकवानपुरका ३७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। पछिल्लो १५ दिनयता भारतबाट आएर क्वारेन्टाइनमा बसेका ४८ जनाको थ्रोट स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गर्दा ८ जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र ५ का १८ देखि ३६ वर्ष उमेर समूहका ८ जनामा संक्रमण देखिएको जानकारी दिएका छन्। नैनापुरमा गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संक्रमित सबै भारतबाट आएकाहरु भएको बताए।