सीमाको बसाई : प्रचण्ड गर्मीमा पानी पनि पाउँदैनन् प्रहरी



 

झापा– सरकारले कोरोना भाइरसको सङ्क्रमण रोक्न सीमा सुरक्षामा सशस्त्र र नेपाल प्रहरी खटाए पनि उनीहरुका लागि न्युनतम् आधारभूत सुविधाको भरपर्दाे व्यवस्थापन हुन सकिरहेको छैन । घाम पानी नछेक्ने अस्थायी टहरामा बसेर भए पनि उनीहरुले सीमावर्ती क्षेत्रमा दिनरात पहरा भने दिइरहेका छन् ।

बाँसका भाटा र छिनको छाप्रो हालेर बनाइएका अस्थायी प्रहरी पोस्ट छन् । प्रचण्ड गर्मीको यो सिजनमा न घाम छेकिन्छ, नत पानी पर्दा ओत लाग्न मिल्छ । त्यहाँ दैनिकी गजार्नु पर्ने बाध्यता सीमामा खटिएका सुरक्षाकर्मीको छ । न्यूनतम् पूर्वाधार समेत नभएका ठाउँमा खटिँदा आउने अनेकौँ अफ्ठ्यारासँग उनीहरु जुधिरहेका छन् ।

कोरोना भाइरस संक्रमण रोकथाम, उपचार समन्वय तथा अनुगमन समितिले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको अवस्था अवस्था दयनीय रहेको जनाएको छ । समितिका संयोजक सोमनाथ पोर्तेल भन्छन्, ‘बिजुली, पानी, शौचालय जस्ता न्यूनतम् पूर्वाधारविना प्रहरी खटिरहेका छन्, उनीहरुको अवस्था दयनीय छ । तत्काल व्यवस्थापन गर्नु पर्छ ।’

संयोजक पोर्तेलले यस विषयमा प्रदेश सरकार र सङ्घीय सरकारको ध्यानाकर्षण गराइने बताए । भारतीयको प्रवेश रोक्न सीमा नाकामा बनाइएका अस्थायी पोस्टमा खानेपानीको स्रोत पनि छैन । छेउछाउमा स्रोत नहुँदा उनीहरुले समयमा पानी पनि पिउन पाउँदैनन् । विहान बेलुका खाना खान दुई÷तीन किलोमिटर धाउनुपर्ने अवस्था छ ।

अभाव र कष्ट सहेर भए पनि उनीहरुले सीमावर्ती क्षेत्रमा दिनरात पहरा दिन छोडेका छैनन् । ‘अभाव भए पनि आफ्नो दायित्वप्रति सुरक्षाकर्मी सचेत छन्’, झापाका प्रहरी प्रमुख कृष्णप्रसाद कोइराला भन्छन्, ‘सकेसम्म सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीको बसाई सहज हुने गरी पहल गरिरहेका छौँ ।’ उनले जनशक्ति व्यवस्थापन भए सीमा क्षेत्रमा थप अस्थायी पोष्ट राखिने बताए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ठाउँ ठाउँमा अस्थायी पोष्ट बनाएर बसेका छन् । तर, घाम पानी छेक्न नसक्ने यस्ता अस्थायी पोस्टको बसाई सहज छैन् । सीमा नाकामा खटिएका सुरक्षाकर्मीका लागि एकातिर सीमावर्ती आवागमन रोक्ने चुनौति छ भने अर्कातिर भरपर्दाे बासस्थान नहुँदा कसरी ड्युटी पूरा गर्ने भन्ने चिन्ता छ ।

सुरक्षाकर्मीको बसाईलाई व्यवस्थित बनाउन सरकारले चासो दिनुपर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन बताउँछन् । ‘सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको मनोवल बढाउन पनि सरकारले आवश्यक न्यूनतम् सुविधा विस्तारमा ध्यान दिनुपर्छ’, उनले भने, ‘ अनि मात्रै सीमा सुरक्षा भरपर्दाे र व्यवस्थित हुनसक्छ ।’