बोर्डरमा नेपालीको चित्कार, कम्तीमा १२ सय जना नेपाल प्रवेशको पर्खाइमा



 

झापा– पूर्वी सीमावर्ती क्षेत्रमा १२ सय भन्दाबढी नेपाली स्वदेश फर्किन पाउने आशामा प्रतिक्षारत छन् । लक डाउन लम्विदै जाँदा उनीहरु सीमावर्ती क्षेत्रमा आइपुगेका हुन् ।

कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लक डाउनका कारण अलपत्र परेका नेपालीको चाप सीमावर्ती क्षेत्रमा देखिएको हो । जिल्ला प्रशासन कार्यालय झापाले १२ सय भन्दाबढी नेपाली नेपाल प्रवेशको पर्खाइमा रहेको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले उनीहरु सीमावर्ती क्षेत्रमा प्रतिक्षारत रहेको बताए । मेचीनगर नगरपालिकाले भने सीमापारि रहेका नेपालीले खान समेत नपाएको दावी गरेको छ ।

भारतले खान समेत नदिई नेपालीलाई राखेको नगर प्रमुख विमल आचार्य बताउँछन् । ‘धेरै नेपालीले खान समेत पाएका छैनन्’, नगर प्रमुख आचार्यले पत्रकार सम्मेलनमा भने, ‘तत्काल उनीहरुको उद्धार आवश्यक छ ।’

नगर प्रमुख आचार्यले सीमावर्ती क्षेत्रमा रहेका नेपालीमाथि भारतीय पक्षद्वारा अमानवीय व्यवहार भइरहेको भन्दै रोष प्रकट गरे । उनले उनीहरुलाई स्वदेश फर्काएर क्वारेन्टाइनमा राख्ने गरी तयारी गरिएको जानकारी दिए ।

मंगलबारदेखि भारतले रेलसेवा सञ्चालन गरेपछि विभिन्न शहरमा अलपत्र नेपाली सीमावर्तीसम्म आइपुगेका हुन् । भारतको पश्चिम बंगाल र बिहार राज्यका सीमावर्ती क्षेत्रमा नेपालीको भीड बढ्दै गएको छ ।

झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले पनि सीमावर्ती क्षेत्रमा प्रतिक्षारत नेपालीको संख्या थपिएको बताए । ‘१२ देखि १५ सय नेपाली पर्खाइमा छन्’, उनले भने, ‘माथिल्लो निकायको आदेश आएपछि उनीहरुलाई नेपाल प्रवेश गराउने योजना छ ।’ उनले उनीहरुलाई स्थानीय तहले बनाएका क्वारेन्टाइनमा राखिने बताए।

कतिपय नेपाली सीमावर्ती सुरक्षा र निगरानीमा खटिएका सुरक्षाकर्मीको आँखा छलेर नेपाल छिर्दैछन् । यसरी छिरेका नेपालीलाई स्थानीय तहले बनाएका क्वारेन्टाइनमा राखिएको छ ।