सुत्केरीको मृत्युबारे स्वास्थ्य मन्त्रालयद्वारा अध्ययन सुरु



 

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको विषयमा सबै रिपोर्ट आइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण सुत्केरी अवस्थाकी ती महिलाको मृत्यु भएको समाचार सञ्चारमाध्यममा आइरहँदा मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा उनको मृत्युका विषयमा विस्तृत विवरण प्राप्त भइनसकेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महिलाको मृत्युका विषयमा विस्तृतमा अध्ययन भइरहेको बताए । उनले सबै विवरण प्राप्त भएपछि कोरोना हो वा होइन खुल्ने जानकारी दिए । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको थियो ।

 वैशाख २३ मा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै उनलाई धुलिखेल ल्याइएको थियो । विहीवार राति उनको मृत्यु भएको हो । घटनाका विषयमा बुझ्न मन्त्रालयको टोली धुलिखेल गएको छ ।