विना प्रतिस्पर्धा फार्मेसी सञ्चालन गर्न दिने निर्णयबाट पछिहट्यो बुद्धशान्ति गाउँपालिका



 

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका बिना प्रतिस्पर्धा आरएमसी मेडिकल सेन्टर अर्जुनधारालाई स्वास्थ्य विमा सहितको फार्मेसी सञ्चालनको अनुमति दिने निर्णयबाट पछाडि हटेको छ ।

आइतबार कार्यपालिकाको बैठकले बिना प्रतिस्पर्धा फार्मेसी सञ्चालन प्रक्रिया अगाडि बढाउने यसअघिको निर्णय बदर गर्दै खुल्ला प्रतिष्पर्धाबाट फार्मेसी सञ्चालन गराउने निर्णय गरेको हो । डिजिटल पत्रिका विवेचना डटकमले विना प्रतिस्पर्धा पार्मेसी सञ्चालन गर्न दिने गाउँपालिकाको निर्णय विवादमा परेको समाचार छापेको थियो ।

बिना प्रतिस्पर्धा फार्मेसी सञ्चालन प्रक्रिया अगाडि बढाउँदा विवादमा मुछिएको गाउँपालिकाले अब खुल्ला प्रतिष्पर्धाको बाटो रोजेको छ । सार्वजनिक खरिद ऐन र नियमावली अन्तर्गत रहेर सार्वजनिक सूचना प्रकाशित गरेर ७ दिने सिलबन्दी कोटेसन माग गर्ने निर्णय भएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताए ।

न्युनतम् वार्षिक पाँच लाख रूपैयाँमा तीन बर्षे सम्झौताका लागि कोटेशन माग गर्ने तयारी गाउँपालिकाको छ । यसअघि गत बैशाख २५ गते बुद्धशान्ति कार्यपालिका बैठकले आरएमसी मेडिकल सेन्टर अर्जुनधारालाई स्वास्थ्य विमा सहितको फार्मेसी सञ्चालनको अनुमति दिने निर्णय गरेको थियो ।