सिलगुडीदेखि चारआलीसम्म पेट्रोलियम पाइप लाइन बन्दै, झापामा पेट्रोलियम भण्डार गृह पनि बनाइने



 

सुब्रत न्यौपाने, झापा– सरकारले भारत पश्चिम बंगालको सिलगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्ने भएको छ । नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण अघि बढाउने विषय सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको हो ।

शुक्रवार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आवश्यक अध्ययनपछि भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण अघि बढाउने बताइन् । पेट्रोलियम पाइपलाइन निर्माणका लागि भारतीय पक्षले नेपालतर्फ प्रारम्भिक सर्वेको काम सम्पन्न गरिसकेको छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले इण्डियन आयल कर्पाेरेशनले पहिलो चरणको प्रारम्भिक सर्वेको काम सकेको बताए । दुईजना इञ्जिनियरसहितको भारतीय आयल निगमको टोलीले तीन महिनाअघि झापाको चारआलीसम्म आएर प्रारम्भिक सर्वेको काम गरेको थियो ।

प्रारम्भिक रेखाङ्कनका लागि भारतीय टोलीले तीन नेपालतर्फको फिल्ड अध्ययन सम्पन्न गरेको प्रवक्ता उपाध्यायले जानकारी दिए । पेट्रोलियम पदार्थको सहज आयातका लागि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारसँगै दोस्रो चरणमा झापा–सिलगुडी पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सकारात्मक छ ।

सहमतिपछि भारतीय आयल निगमका अधिकारीहरुले नेपालतर्फको प्रारम्भिक रेखाङ्कन सकेका छन् । ‘अब दोस्रो चरणको काम अगाडि बढ्छ’, प्रवक्ता उपाध्यायले भने, ‘निगम त्यसैको तयारीमा जुटेको छ ।’ भारतीय आयल निगमको सिलुगडी डिपोदेखि झापाको चारआलीसम्म पाइप लाइनको दूरी करिव ४५ किलोमिटर हुनेछ ।

भारतीय आयल निगमले आफ्नो डिपो सार्ने तयारी गरिरहेकाले यो दूरी अझै छोटो हुने अनुमान गरिएको छ । ४० देखि बढीमा ५० किलोमिटरमा पाइपलाइन योजना पूरा हुने नेपाल आयल निगमको विश्वास छ । यद्यपि, दोस्रो चरणमा मात्रै यसको टुङ्गो लाग्नेछ ।

पूर्वमा नेपाल आयल निगमले भारत पश्चिम बङ्गालको सिलगुढी र बरौनी डिपोबाट पेट्रोलियम पदार्थ आयात गर्दै आइरहेको छ । पेट्रोलियम लोड भएका ट्याङ्कर काँकडभिट्टा र रानी भन्सार नाका हुँदै नेपाल भित्रिने गरेका छन् । तर, बेला बेलामा हुने अवरोधले आयात प्रभावित हुने गर्छ ।

सहमति अनुसार सिलगुडीदेखि चारआलीसम्म पाइपलाइन निर्माण भए पूर्वी नेपालका लागि पेट्रोलियम पदार्थको आयात सहज हुने र लागत पनि कम पर्ने व्यवसायीहरु बताउँछन् । नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष नवीन कोइराला भन्छन्, ‘ढुवानी सहज हुनुका साथै लागत खर्च पनि कम पर्छ ।’ अध्यक्ष कोइरालाले पाइपलाइन विस्तारपछि विना अवरोध पेट्रोलियम नेपाल आउने बताए ।

नेपाल भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपको सहसचिवस्तरीय पहिलो बैठकमा सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा भारतीय पक्षले सहमति जनाएको थियो । सहमति अनुसार नेपालतर्फ प्रारम्भिक सर्वेको काम सकिएको हो ।

झापामा पेट्रोलियम भण्डारण गृह
सरकारले अमलेखगञ्जदेखि चितवनसम्म पनि पेट्रोलियम पाइपलाइन विस्तारको योजना बनाएको छ । यसबाहेक झापा, सर्लाही र चितवनमा पेट्रोलियम भण्डारण गृह निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

निगमका प्रवक्ता उपाध्याय पाइपलाइन बनाएपछि भण्डारण गृह अनिवार्य हुने भएकाले त्यसको पनि तयारी अघि बढेको बताउँछन् । झापामा निगमले खरिद गरेको २५ विघा जग्गामा भण्डारण गृह निर्माण हुने भएको हो । झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने सरकारको तयारी छ ।