एक्सेल विकास बैंकका कर्मचारीले बाँडे ४ सय परिवारलाई राहत



 

झापा– एक्सेल विकास बैङ्कका कर्मचारीले विपन्न चार सय परिवारलाई राहत बाँडेका छन् । झापा, मोरङ र इलाममा रहेका शाखामार्फत एक्सेलका कर्मचारीले विपन्नलाई राहत बाँडेका हुन् । एक्सेल विकास बैङ्कको कर्मचारी युनियनमार्फत राहत बाँडिएको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत कर्मचारी युनियनले आफ्नो कार्य क्षेत्र भित्रका विपन्न परिवारलाई प्रतिपरिवार २० किलो चामल, पाँच किलो आँटा, दुई लिटर तेल, दुई किलो नुन, एक किलो मुरही, दुई प्याकेट मसला, दुई प्याकेट बेसार र दुई किलो चिउरा बाँडेको छ ।

भद्रपुर–२ सोमवारे शाखाका प्रमुख राजशंकर झाले भद्रपुर नगर क्षेत्रमा रहेका तीन वटा शाखाले अति विपन्न परिवारका ४० घर परिवारलाई एक महिना धान्ने गरी खाद्यान्न प्रदान गरेको बताए । भद्रपुर नगरमा रहेका १० वटा वडा भित्रका प्रत्येक वडाबाट चार जनाका दरले ४० जनालाई खाद्य सहयोग गरिएको हो ।

बैंकमा कार्यरत कर्मचारीको दुई दिनको तलव विपन्न परिवारका लागि गाँस जुटाउन सहयोग गरिएको युनियनले जनाएको छ । जसमा आइतवार मात्र विर्तामोड नगर क्षेत्रमा ४५, कन्काईमा ४०, भद्रपुरमा ४० र महेन्द्र चोक विराटनगरबाट ११ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।