बिर्तामोडमा युवाको अग्रसरता : दैनिक सात सय जनालाई निःशुल्क खाना



 

झापा– बिर्तामोडका तीनजना युवाले विपन्नलाई सातादिनदेखि खाना खुवाइरहेका छन् । आर्थिक अभाव र गरिवीका कारण छाक टार्न नसक्ने अवस्थामा पुगेका नागरिकका लागि उनीहरु खानाको व्यवस्थापन मिलाएका हुन् ।

नवीन सिवाकोटी, अपरोज खान र उदय साहको अग्रसरतामा निशुल्क खाना अभियान सुरु गरिएको हो । व्यक्तिगत पहलमा सुरु भएको खाना खुवाउने अभियानमा मनकारीको सहयोग पनि मिल्न थालेको छ ।

समाजका विभिन्न क्षेत्रका अगुवाले आर्थिकरुपमा धमाधम सहयोग उपलब्ध गराइरहेको अभियानका अगुवा नवीन सिवाकोटीले बताए । ‘अरुले पनि सहयोग गर्न थालेपछि यसलाई अघि बढाउन सजिलो भएको छ’, सिवाकोटीले भने ।

बिर्तामोड–३ को समावेशी टोलमा दैनिक निशुल्क खाना खुवाउने गरिएको छ । अभियानको पहिलो दिन ५५० जनाले खाना खाएका थिए । अहिले दैनिक सात सय जनाले खाइरहेका छन् । खाना खुवाउने यो अभियानमा शुभेच्छुकहरुको महत्वपूर्ण सहयोग छ ।

नेकपा बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईले १४ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् । प्रकाश सिवाकोटीले ५ हजार १ सय, राज कार्कीले ५ हजार, अनुज खड्काले ५ हजार, घनश्याम चौधरीले २ हजार, राजकुमार साहले २ हजार, अनन्तलाल महतोले २ हजार, लीला थापाले १६ सय, माधव दाहालले १५ सय दिएका छन् ।

समावेशी टोलका समाजसेवी राजेन्द्र सिंहले १२ हजार, रेनुका थापाले ३ हजार, मुना अन्सारीले ३५ सय, मञ्जर अलिले ५ हजार, अभिषेक साहले ११ सय, रोशन सुवेदीले ५ हजार र युवराज निरौलाले २ हजार रुपैयाँ सहयोग गरेका छन् ।

नयाँ समावेशी टोलबाट १२ हजार सहयोग प्राप्त भएको छ । वडा प्रतिनिधि श्रृष्टि दाहालले २ हजार दिएकी छन् । बिर्तामोड नगरपालिकालाई जानकारी दिएर युवाहरुले विपन्नका लागि खानाको प्रवन्ध मिलाएका हुन् ।