भद्रपुरका निजी विद्यालयले दिने भए तलब भत्ता



भद्रपुर–भद्रपुरका निजी विद्यालयले शिक्षक कर्मचारीलाई चैत महिनाको तलव भत्ता दिने भएका छन् । यसअघि विद्यालयले चैत महिनाको तलव भत्ता नदिएपछि शिक्षकहरु आक्रोसित थिए । संस्थागत विद्यालय शिक्षक युनियन भद्रपुर नगर समितिले न्यायको अपिल गर्दै नगरपालिकालाई ज्ञापन बुझाएको थियो ।

शिक्षकको मागका विषयमा भद्रपुर नगरपालिकाले अग्रसरता लिएपछि निजी विद्यालयहरु चैत महिनाको तलव भत्ता जेठ १५ भित्र भुक्तानी गर्न सहमत भएका हुन् । संस्थागत विद्यालय शिक्षक युनियन र प्याब्सन भद्रपुरलाई राखेर नगरपालिकाले छलफल गरेको हो ।

नगर प्रमुख जीवनकुमार श्रेष्ठको अग्रसरता तथा नगर शिक्षा शाखा प्रमुख प्रेम भुजेलको संयोजनमा सम्पन्न दुई पक्षीय छलफलमा जेठ १५ गते भित्र संस्थागत विद्यालयहरूले शिक्षक कर्मचारीको तलव भुक्तानी गर्ने सहमति भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले दुई पक्षको अडानका बीच जेठ १५ गतेको भाकामा पारिश्रमिक भुक्तानी दिने सहमति भएको बताए ।