नर्सिङ सङ्घ झापाले भन्यो, ‘नर्सहरुलाई सुरक्षा सामग्री खोई ?’



तस्वीर–बिजय बराल

झापा– सुरक्षा सामग्रीविना नर्सहरुलाई कोरोना संक्रमितको उपचारमा खटाइएको भन्दै नेपाल नर्सिङ सङ्घ झापाले कडा आपत्ति जनाएको छ । सुरक्षा सामग्रीको व्यवस्थापनमा लापरवाही भइरहेको भन्दै सङ्घले विज्ञप्तिमार्फत नाङ्गो हातले मात्रै सेवा दिन नसकिने जनाएको हो ।

नेपाल नर्सिङ सङ्घ झापाकी अध्यक्ष रुचि सिवाकोटी र सचिव देवकुमारी दंगालले मङ्गलवार विज्ञप्ति जारी गर्दै पिपिइविना नर्सिङ स्टाफहरुलाई काममा लगाइएको जनाएका छन् । ‘अस्पतालमा अग्रपङ्तिमा कार्यरत नर्सहरुलाई अविलम्व पिपिई दिइनुपर्छ’, अध्यक्ष सिवाकोटीले विवेचनासँग भनिन् ।

नेपाल नर्सिङ सङ्घ झापाले जोखिमपूर्ण अवस्थामा खटिएका नर्सहरुलाई सुरक्षा सामग्रीसँगै जोखिम भत्ता पनि उपलब्ध गराउनु पर्ने माग गरेको छ । कोरोना भाइरस संक्रमणको यस्तो जटिल अवस्थामा उनीहरुको मनोवल बढाउन जरुरी भएको अध्यक्ष सिवाकोटी बताउँछिन् ।

‘स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न प्रोत्साहन भत्ता र कोरोना बीमा गरिनु पर्छ’, उनले भनिन्, ‘यसमा छिटोभन्दा छिटो सरकारको ध्यान पुगोस् भन्ने चाहेका छौँ ।’ नेपाल नर्सिङ सङ्घले कोरोना संक्रमित सबै नर्सहरुको स्वास्थ्य लाभको कामना गर्दै सकेसम्म सुरक्षित रहन पनि भनेको छ । सङ्घले उनीहरुलाई तलबी विदा दिएर आलोपालो ड्युटी गर्ने व्यवस्था मिलाउन पनि सबै स्वास्थ्य प्रतिष्ठानसँग आग्रह गरेको छ ।