झापाका २५ जना पत्रकारको कोरोना जाँच, रिपोर्ट भोलिसम्म आउने



 

बिर्तामोड– झापाका पत्रकारमा कोरोना भए नभएको विषयमा जाँच गरिएको छ । बुधवार पत्रकार महासंघको कार्यालयमा  पत्रकारहरुको पीसीआर विधिबाट कोरोना जाँच गरिएको हो।

महासंघको पहलमा सामाजिक विकास मन्त्रालयले पत्रकारहरुको स्वाब संकलन गरेको नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले बताए । पहिलो चरणमा २५ जना पत्रकारको स्वाब संकलन गरिएको छ ।

समाचार रिपोर्टिङका क्रममा पत्रकार अग्रपङ्तिमा रहने भएकाले महासंघ झापाले पहिलो चरणमा २५ जना पत्रकारको स्वाब परीक्षणको व्यवस्था मिलाएको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका स्वास्थ्यकर्मीले प्राविधिक सहयोगमा स्वाब संकलन गरिएको छ ।

यसअघि मोरङमा १७ जना पत्रकारको परीक्षण गरिएको थियो । झापामा फ्रन्ट लाइनमा काम गर्ने अरु धेरै पत्रकारको परीक्षण छुटेकाले एक साताभित्र परीक्षणको व्यवस्था मिलाइने महासङ्घका सचिव आचार्यले बताए ।

स्वाब संकलनस्थलमा आइपुगको प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोनाविरुद्धको अभियानमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै सकेसम्म सुरक्षित रहेर समाचार संकलन गर्नु पर्नेमा जोड दिए । पत्रकारहरुको स्वाबको रिपोर्ट विहीवार अपरान्हसम्म आइपुग्ने जनाइएको छ ।