झापामा फेरि थपिए पाँच जना कोरोना संक्रमित



 

बिर्तामोड– झापामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि दक्षिणी झापाको कचनकवलमा १० जना संक्रमित भेटिएका थिए । भारतबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरिएको थियो ।

यसअघि संक्रमित दमक र बाह्रदशीका दुई जना उपचारपछि घर फर्किसकेका छन् । बुधवार झापाका विभिन्न ठाउँमा फेरि पाँच जना संक्रमित थपिएका हुन् । योसँगै झापामा संक्रमितको संख्या १७ पुगेको छ ।

बुधबार झापाका ५, सुनसरी र धनकुटाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १, मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका १ र सुनसरीका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले स्वास्थ्य मन्त्रालयले सवा ४ बजे गरेको पत्रकार सम्मेलनपछि ७ जना संक्रमित थपिएको बताए। ‘यी सात जना नयाँ संक्रमित हुन’, सुवेदीले भने, ‘यो सँगै प्रदेशमा संक्रमितको संख्या ६६ पुगेको छ।’

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको हो । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार बुधबारसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।