अकस्मात बिर्तामोड सिल गर्ने निर्णय



 

झापा– लक डाउन कार्यान्वयनमा चुनौति व्यहोरेको बिर्तामोड नगरपालिकाले बजारमा दैनिक बढ्दो भीड व्यवस्थापन गर्न नगर क्षेत्र सिल गर्ने निर्णय गरेको छ । बिहीवार रातिदेखि नगर क्षेत्र सिल गर्ने निर्णय नगरपालिकाले गरेको हो । यद्यपि, नगरपालिकाले यस विषयमा औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन ।

सूर्याेदय टेलिभिजनसँगको टेलिफोन वार्तामा बिर्तामोडका मेयर ध्रुवकुमार सिवाकोटीले बिर्तामोडलाई ‘अघोषित सिल’ गरिएको भनेका छन् । दवावमा कृषिथोक बजार पनि खोलिएपछि बिर्तामोडमा थामिनसक्नुको भीड छ । बैक तथा वित्तिय संस्था भएका ठाउँमा पनि जनचाप थपिँदै गएको छ ।

नगरपालिका कार्यपालिका र राजनीतिक दल समेतको सहमतिका आधारमा बिर्तामोड सिल गर्ने निर्णय भएको नेकपा नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईले बताए । ‘अरुतिरबाट बिर्तामोड प्रवेश गर्नेको संख्या पनि धेरै छ, अध्यक्ष प्रसाईले भने, ‘यहाँको भीड घटाउन पनि आवतजावतमा कडाइ गर्नुको विकल्प छैन ।’