झापामा २७ जनामा भेटियो कोरोना भाइरसको संक्रमण



बिर्तामोड– झापामा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । बुधवार एकै दिन झापाको कचनकवलमा १५ जना संक्रमित थपिएका छन् । दिउँसो पाँच जना संक्रमित पुष्टि भएकोमा राति थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसअघि सोमवार र मंगलवार झापाको कचनकवलमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । भारतमा नेपाल प्रवेश गरेका स्थानीयमा कोरोना भाइरस देखिएको हो । उनीहरुलाई नेपाल छिर्ना साथ क्वारेन्टाइनमा लगिएको थियो ।

यसअघि झापाको दमक र बाह्रदशीमा दुई जना पुरुष संक्रमित थिए । उनीहरु कोभिड कोशी अस्पतालमा तीन साता लामो उपचारपछि घर फर्किसकेका छन् । झापासहित प्रदेश १ मा बुधबार एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बुधबार दिउँसो झापाका ५, सुनसरीका १ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा राति ११ बजे झापाका थप १० जनामा कोरोना पुष्टि भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सका अनुसार प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि सोही प्रयोगशालामा गरिएको परीक्षणमा झापाकै ५ जनामा कोरोना देखिएको थियो । उनीहरु सबै कचनकबल गाउँपालिकाका छन् । । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका एक पुरुष र धरानका एक महिलालाई कोरोना पुष्टि भएको छ ।

यसअघि धनकुटामा ६ जना संक्रमित भेटिएकोमा थप परीक्षण गर्दा एक जना भेटिएको हो । प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ ।

सूचना डेस्कका अनुसार बुधबारसम्म पिसिआरबाट ३ हजार ७ सय ७ जनाको परीक्षण भएको छ । यस्तै आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ । प्रदेशसमा सबैभन्दा धेरै उदयपुरमा ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै झापामा २७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा एक जना र भोजपुरमा एक जनामा संक्रमण पुष्टि भएको । प्रदेशमा संक्रमित भएकामध्ये २६ जना निको भएर घर फर्किएका छन् ।

प्रदेशमा थपिएका संक्रमितको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पुष्टि गरेको छ । प्रदेशमा जम्मा संक्रमितको संख्या ६६ पुग्दा देशभर ४४४ संक्रमित भएका छन् । संक्रमित २ जनाको मृत्यु भएको छ ।