अरु स्थानीय तहबाट बिर्तामोड छिर्न नदिने निर्णय, पासविनाका सवारीमा रोक



 

झापा– बिर्तामोड नगरपालिकाले अरु स्थानीय तहबाट कसैलाई पनि बिर्तामोडमा प्रवेश नदिने भएको छ । नगर कार्यपालिकाको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । लक डाउनलाई कडाईपूर्वक पालना गर्न नगरपालिकाले नगरवासीलाई अपिल गर्दै पासविनाका सवारी सञ्चालन गर्न नदिइने जनाएको छ ।

स्वास्थ्य तथा कृषि बाहेकका सबै सेवा अर्काे निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले बताएका छन् । बिहीवार दिउँसो नगरवासीका नाममा अपिल जारी गर्दै नगर प्रमुख सिवाकोटीले अस्पताल, औषधि पसल, शव बाहन र एम्वुलेन्सको सेवा नरोकिने बताए ।

दुध, बीउबीजन र मलको उत्पादन तथा बिक्री वितरणमा कुनै रोक लगाइएको छैन भने पशु उपचार सेवामा पनि छुट दिने निर्णय नगरपालिकाले सार्वजनिक गरेको अपिलमा उल्लेख छ । घुम्ती सेवामार्फत बिहान ८ देखि १२ सम्म तरकारी बिक्री गर्न पाइनेछ ।

नगरभित्र सञ्चालन भइरहेका विकास आयोजनाको काम पनि नरोकिने भएको छ । ती आयोजनामा मालसमान ढुवानी गर्नुेपर्ने भएकाले त्यस्ता सवारीलाई नगरपालिकाले पास उपलब्ध गराउनेछ ।