कचनकवल कोरोनाको ‘हट स्पट’, भारतबाट आएका ३३ स्थानीयबासी संक्रमित



 

बिर्तामोड– झापाको कचनकवल गाउँपालिका कोरोना भाइरसको ‘हट स्पट’ बनेको छ । भारतबाट नेपाल छिरेका स्थानीयमा कोरोनाको संक्रमण तीव्र भएको हो । बुधवार एकै दिन १५ जना संक्रमित थपिएको कचनकवलमा विहीवार पनि थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसरी संक्रमितको संख्या कचनकवलमा ३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार झापामा थपिएका संक्रमित कचनकवलको लक्ष्मीनारायण माविको क्वारेन्टाइनमा छन् ।  यसअघि सोमवार र मंगलवार कचनकवलमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

भारतबाट नेपाल प्रवेश गरेका स्थानीयमा कोरोना भाइरस देखिएको हो । उनीहरुलाई नेपाल छिर्ना साथ क्वारेन्टाइनमा लगिएका कारण समुदायमा कोरोनाको संक्रमण फैलिन नपाएको स्वास्थ्य अधिकारीहरुको अनुमान छ ।

यसअघि झापाको दमक र बाह्रदशीका दुई जना पुरुष संक्रमित थिए । उनीहरु कोभिड कोशी अस्पतालमा तीन साता लामो उपचारपछि घर फर्किसकेका छन् । झापामा संक्रमितको संख्या ३५ पुगेको छ ।