अलैंची सूचना केन्द्रको भवन निर्माण जारी



 

बिर्तामोड– झापाको विर्तामोडमा निर्माण शुरु गरिएको अलैंची सूचना तथा अनुसन्धान केन्द्रको दोस्रो तलाको ढलाई बुधबार गरिएको छ ।

अलैंची व्यवसायीकै आर्थिक सहयोगमा विर्तामोड–७ को हर्कलाल मार्गमा खरिद गरिएको दुई कट्ठा दुई धुर जग्गामा निर्माण भइरहेको सूचना तथा अनुसन्धान केन्द्र एवम् सचिवालय भवन नेपाल अलैंची व्यवसायी महासंघको व्यवस्थापनमा सञ्चालन हुनेछ ।

पहिलो सभाहल र सचिवालय एवम् दोस्रो तलामा व्यवस्थित सूचना तथा अनुसन्धान केन्द्र सञ्चालन गर्न निर्माणाधीन भवनको लक डाउनका कारण रोकिएको काम सामाजिक दूरी कायम राख्दै अघि बढाइएको महासंघका कार्यकारी अधिकृत अनिल ढुंगानाले जानकारी दिए ।

भवन निर्माणका लागि १ नम्वर प्रदेश सरकारले ४० लाख रुपैयाँ सहयोग गरेको छ भने संघीय कृषि मन्त्रालयले पनि भवन निर्माणमा सहयोग गरेको छ । तीनतले भवनको लागत स्टिमेट दुई करोड रहेकोमा हालसम्म ८० लाख रुपैयाँ भन्दाबढी खर्च भइसकेको महासंघका महासचिव सुवास भट्टराईले जानकारी दिए ।

भवन निर्माणमा अलैंची व्यवसायीहरुले पनि आर्थिक सहयोग गरेको उनले बताए । व्यवस्थित र प्रविधि सम्पन्न सूचना केन्द्र सञ्चालन गर्ने उद्देश्यले निर्माण शुरु भएको भवनलाई अलैंचीको अनुसन्धान केन्द्रको रुपमा विकास गर्न समेत मन्त्रालयले सुझाव दिएको र त्यसका लागि मन्त्रालयले सहयोग गर्ने आश्वासन आफूहरुले पाएको भट्टराईले बताए ।

नेपालमा वार्षिक लगभग पाँचहजार मेट्रिकटन अलैंची उत्पादन र पाँच अर्ब बराबरको वैदेशिक मुद्रा आर्जन हुने गरेको छ । तर, यो वर्ष विश्वव्यापी कोरोना भाइरस महामारीका कारण निर्यात घट्न सक्ने अनुमान गरिएको छ ।