दाजुभाइले बाउ मारे, घरभित्रै गाडियो लास, बुहारीले पोल खोलिन्



 

मोरङ– ७० वर्ष पुग्न लागेका बाउ । छोराहरुसँगै घरायसी खर्चका लागि थोर बहुत पैसा मागिरहन्थे । कान्छो छोरो वेपत्ता भएपछि जेठो र माइलोसँग सहयोग माग्थे उनी । तर, ‘पैसा देओ’ भनेकै भरमा दुई छोराले बाबुको हत्या गरेका छन् ।

सामान्य विवादमा विराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ वर्षका सीताराम चौहानको ज्यान गएको हो । उनलाई जेठा छोरा रोहित र माइला नागेन्द्रले कोदालोले हिर्काएर हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

शनिवार साँझ चौहान दाजुभाई मातेर घर पुगेका थिए । बाउले पैसा मागेपछि उनीहरु रिसाए । बाउमाथि पहिलो आक्रमण रोहितले गरे । कोदालोले हानेर उनले बाउलाई ढाले । अनि माइलो नागेन्द्रले फेरि अर्काे पटक कोदालोले हानेपछि बुढ्यौली शरीर थामिएन । एकैछिनमा सीतारामको प्राणपखेरु उड्यो ।

बाउ मारेपछि नागेन्द्र आफ्नो डेरामा सुत्न गए । रोहित बाउ भएकै घरमा सुते । भोलिपल्ट विहान घरभित्रै खाल्डो खनेर दाजुभाइले लास गाडे । नागेन्द्रकी श्रीमती जैनुव खातुनले ससुरा आउन छोडेपछि खोजखबर सुरु गरिन् । ससुराको मोवाइल अफ भएपछि शंका लाग्यो । घरमा गएर हेर्दा भुइ खोस्रिएको भेटियो । उनले प्रहरीमा खबर गरिन् ।

‘प्रहरीले बिहीवार साँझ खनेर हेर्दा घरभित्रै शव भेटियो’, मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले भने, ‘योजना नभई मदिराको सुरमा उनीहरुले बाबुको हत्या गरेको खुलेको छ ।’ उनीहरुलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक पनि गरेको छ ।