३० जना नयाँ संक्रमित थपिए, १५ जना सर्लाहीका



काठमाडौँ– नेपालमा शुक्रबार बिहान थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। तीमध्ये १५ जना सर्लाही जिल्लाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्मका संक्रमित थपिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । चितवनको भरतपुर महानगरपालिका–६ का ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिलामा कोरोनाको संक्रमण देखिएको छ।

बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३ र नवलपरासी सुस्तापूर्वका एकजना छन्। उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो।

योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट नौ दिने सुत्केरीसहित तीन जनाको मृत्यु भएको छ।