भद्रपुरमा जमिन बाँझो राखे उत्पादनको ५० प्रतिशत जरिवाना



 

झापा– कोरोना भाइरसको संक्रमणको त्रासका कारण खाद्य संकटको जोखिम बढ्ने भएपछि भद्रपुर नगरपालिकाले कुनै पनि बहानामा जमिन बाँझो राख्न नपाइने निर्णय गरेको छ ।

नगर विपद व्यवस्थापन समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कुनै पनि बहानामा जमिन बाँझो राखेको पाइए निश्चित रकम जरिवाना गरिने नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

‘जमिन बाँझो राखे प्रमुख बालीको औसत उत्पादनको ५० प्रतिशतले हुन आउने रकम जरिवाना लिने निर्णय भएको छ’, नगर प्रमुख श्रेष्ठले भने, ‘उत्पादकत्व नघटोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।’

बैठकले नगर क्षेत्रभित्रको वाँझो जमिनमा जग्गाधनीले सम्वन्धित वडा कार्यलयसँग समन्वय गरी आफैँले वा कुनै व्यक्ति वा संस्थासँग सम्झौता गरी खेती गर्न सक्ने विषयलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

खेती गर्ने व्यक्ति वा संस्थाले जग्गाधनीको लिखित स्वीकृतिविना कुनै स्थायी संरचना बनाउने वा जग्गा कुनै अनाधिकृत दावी गर्न नपाउने निर्णय बैठकले गरेको हो । बैठकले नगरपालिकाको स्वीकृतिविना घर निर्माण तथा तला थप गर्ने कार्य वन्द गर्ने निर्णय पनि गरेको छ ।