सेनाले एक दिनपछि उठायो कोरोना संक्रमितको शव



 

भैरहवा–कोरोना भाइरसका कारण ज्यान गुमाएका तेस्रो व्यक्तिको शव अस्पतालबाट एकदिनपछि निकालिएको छ । हिजो मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको शव शुक्रवार दिउँसो उठाइएको हो ।

उपचारका क्रममा उनको बिहीवार विहान रुपन्देहीको क्रिसन अस्पतालमा मृत्यु भएको थियो । पेशाले उनी शिक्षक हुन् । नेपाली सेनाको प्राविधिक टोलीले शुक्रवार दिउँसो २ बजेतिर अस्पतालबाट शव उठाएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले जानकारी दिए ।

संघीय सरकारले बनाएको कोभिड–१९ शब व्यवस्थापन कार्यविधि अनुसार विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने भए पनि रुपन्देहीमा यसको व्यवस्था छैन । जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनको जेठ ५ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।