काँकडभिट्टा नाकाबाट झापा छिरे तीन सय नेपाली



फाइल तस्वीर

झापा– काँकडभिट्टा नाकाबाट तीनसय नेपाली भित्रिएका छन् । भारतका विभिन्न स्थानमा रहेका नेपाली रेल सञ्चालन भएपछि सीमावर्ती क्षेत्र हुँदै नेपाल प्रवेश गरेका हुन् । सीमामा अलपत्र नेपालीलाई विहीवार राति उद्धार गरिएको स्थानीय तहले जनाएका छन् ।

सीमा क्षेत्रबाट उद्धार गरी उनीहरुलाई काँकडभिट्टा माविमा रहेको होल्डिङ सेन्टर,इँटाभट्टास्थित आदर्श मावि र धाइजनस्थित स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा लगिएको मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले बताइन् ।

क्वारेन्टाइनमा राखिएका १४५ जनाको शुक्रबार आरडिटी परीक्षण गर्दा १५ जनामा एन्टीबडी पोजेटिभ भेटिएको छ । कतिपयले गाउँपालिकाले आफ्ना नागरिक आफैँ लगेका छन् । राति नै बुद्धशान्ति गाउँपालिकाले आफना नागरिक लगेको छ ।

गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल आफ्नो पालिकाका बासिन्दालाई लिन काँकडभिट्टा पुगेका थिए । समुदायमा कोरोना फैलिन नदिन झापाका पालिकाहरुले हदैसम्म प्रयास गरिरहेका छन् ।

कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम भन्छन्, ‘भारतबाट आउनेहरुलाई सिधैँ क्वारेन्टाइनमा पठाएका कारण समुदायमा कोरोना फैलिएको छैन भन्ने विश्वासमा छौँ ।

कचनकवलमा मात्रै ३३ जना स्थानीयमा कोरोना भाइरसको संक्रमण देखिएको छ । समुदायमा भाइरस फैलिने त्रासका बीच गाउँपालिकाले स्थानीयवासीलाई नआत्तिन अपिल गर्दै आएको छ ।