मेचीनगरको कोरोना कार्यदलमा विवाद, दुई सदस्यद्वारा राजीनामा



 

मेचीनगर– मेचीनगरको कोरोना भाइरस नियन्त्रण विशेष कार्यदलमा तीव्र विवाद भएको छ । कार्यदलको बैठकमा छलफल नभएका विषयहरु निर्णय गरिएपछि विवाद चर्किएको हो ।

तीव्र विवादका बीच कार्यदलका दुई जना सदस्यले आइतवार संयुक्तरुपमा राजीनामा दिएका छन् । नगर प्रमुख विमल आचार्य नेतृत्वको कार्यदलका सदस्य पत्रकारद्वय सन्तोष आचार्य र ज्ञानेन्द्र निरौलाले राजीनामा दिएका हुन् ।
नगर प्रमुख आचार्यको कार्यशैलीप्रति मेचीनगरमा तीव्र असहमति चुलिँदै जाँदा यसअघि पनि कार्यदलका अर्का सदस्य एवम् मेची अभियानका संयोजक विजय डालमियाले राजीनामा दिएका थिए ।

मेचीनगरका मुख्य राजनीतिक दलको नगर नेतृत्वसहित १५ सदस्यीय रहेको कार्यदलमा बसेर काम गर्ने वातावरण नभएकाले राजीनामा दिएको आचार्य र निरौलाद्वारा राजीनामापछि जारी विज्ञप्तिमा उल्लेख छ ।

संकटको सामना गर्न व्यवस्थित क्वारेन्टाइन बनाउनु पर्ने भए पनि मेचीनगर अझै अलमलमा छ । भारतीय सीमामा रहेका नेपालीलाई ल्याउँदा अपनाउनु पर्ने न्युनतम् स्वास्थ्य सुरक्षा विधि पनि पालना नभएपछि कार्यदलको नेतृत्व आलोचित भएको हो ।