तयारी चिया निकासीमा भारतीय अवरोध, घाटा व्यहोर्दै छन् व्यवसायी



 

झापा–भारतीय पक्षले नेपाली तयारी चिया निकासीमा अघोषित रोक लगाएको छ । पूर्वका जिल्लामा उत्पादित तयारी चिया भारत निर्यात हुने मुख्य नाका पानीट्यांकीबाट लक डाउनयता निर्यात हुन सकेको छैन ।

कृषिजयन्य उत्पादन आयात–निर्यातमा दुवै देशले रोक नलगाए पनि नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले ‘अघोषित प्रतिबन्ध’ लगाएको उद्योगी बताउँछन् ।

चिया निर्यातमा भारतको केन्द्रीय तहले नभई पश्चिम बंगाल राज्य सरकार अनुदार देखिएकाले निर्यात अवरोध भइरहेको उनीहरूको अनुमान छ ।

नेपाल टी प्लान्टर एसोसिएसनका अध्यक्ष सुरेश मित्तल पश्चिम बंगालले घोषित रूपमा रोक नलगाएको तर व्यवहार हेर्दा नेपाली चिया भारत छिर्न नदिने प्रपञ्च गरेको बताउँछन् ।

निर्यात हुन नपाउँदा झापामा पाँँच लाख किलोभन्दा बढी तयारी चिया भण्डारण भइरहेको छ। नेपालमै बढी चिया उत्पादन हुने झापामा मात्र होइन, इलाम, पाँचथर, धनकुटालगायत जिल्लामा उत्पादन भएको तयारी चियासमेत निर्यात अवरोधले रोकिएको छ ।

वर्षकै सबैभन्दा गुणस्तरीय मानिने पहिलो टिपाइ (फस्ट फ्लस) को चियासमेत टिप्न र प्रशोधन गर्न नपाएका किसान, उद्योगीले निर्धारित समयभन्दा महिना दिनपछि भएपनि बचेखुचेको पत्ती टिपेका थिए । तर, त्यही उत्पादन पनि निर्यात हुन नसक्दा दोहोरो घाटा भइरहेको छ ।

निर्यात रोकिँदा इलाममा मात्रै करिब १० लाख किलो तयारी चिया स्टक रहेको उद्योगी बताउँछन् । इलामका चार र झापाका तीन चिया सरकारी बगान लिजमा लिएको त्रिवेणी सांघाई समूहले यो वर्ष तयारी चिया बेच्न नपाउँदा एक लाख किलोभन्दा बढी भण्डारण गर्नुपरेको जनाएको छ ।

समूह अध्यक्ष सुवास सांघाईले फस्ट फ्लस टिप्न नपाउँदा करिब तीन करोड रुपैयाँ घाटा बेहोर्नुपरेको बताए ।नेपालबाट बर्सेनि सवा तीन अर्बको तयारी चिया निर्यात हुन्छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार इलाममा सरकारी र निजी गरी १६, झापामा ६९, धनकुटामा ६ ठूला उद्योग छन् । बोर्डका अनुसार देशभर एक सय आठ ठूला चिया उद्योग र बगान छन् ।

चिया खेती गर्ने किसानको संख्याका आधारमा इलाम देशमै पहिलो हो । तर, झापामा सबैभन्दा बढी चिया उत्पादन हुन्छ ।