नेपालमा कोरोना संक्रमितको संख्या सात सयको हाराहारीमा, अहिलेसम्म चार जनाको मृत्यु



 

झापा– नेपालमा कोरोना भाइरसका संक्रमित सातसयको हाराहारीमा पुगेका छन् । सोमवार दिउँसो ७२ जना संक्रमित थपिएका छन् । अपरान्ह  ६ जना थपिँदा कोरोना भाइरसका संक्रमितको संख्या ६८२ पुगेको छ ।

अपरान्ह आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या ६८२ पुगेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित थपिने क्रम तीव्र भएको बताए । हालसम्म उपचारपछि १११ जना डिस्चार्ज भएका छन् । तीमध्ये पुरुष ८३ र महिला २८ जना छन् ।

कोरोना भाइरसको संक्रमण सुरु भएयता सरकारले पिसिआर विधिबाट अहिलेसम्म ५१ हजार ६ सय ४२ वटा परीक्षण भएका छन् । आरडिटी विधिबाट ९५ हजार भन्दाबढी परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोनाबाट चार जनाको मृत्यु भएको डा. देवकोटाले बताए । पछिल्लो पटक वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

मेडिकल कलेजमा जेठ ४ मा निधन भएका कलैया–७ बाराका ७० वर्षीय बृद्धमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो। थप पुष्टिका लागि अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको थियो।

जनस्वास्थ्य प्रयोगशालामा समेत उनको रिर्पोट पोजिटिभ आएको डा. देवकोटाले बताए । स्वास्थ्यमा समस्या आएपछि उनलाई जेठ २ गते अस्पताल भर्ना गरिएको थियो। यसअघि नौ दिने सुत्केरीसहित तीनजनाको मृत्यु भएको थियो ।