३३ जना संक्रमित भेटिएपछि कचनकवलमा कोरोनाको त्रास, क्वारेन्टाइनमा बस्नेहरुको परीक्षण हुँदै



बिर्तामोड– झापाको दक्षिणी कचनकवल गाउँपालिकामा कोरोना भाइरसको संक्रमण देखिएपछि त्रास बढ्दै गएको छ । भारतबाट आएका ३३ जना स्थानीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित क्षेत्र वरपरका स्थानीयबासी अहिले त्रसित छन् ।

जेठ २ गते भारतको मुम्वइबाट आएका कचनकवल गाउँपालिकाका २३ वर्षीय युवामा कोरोना भाइरसको पहिलो संक्रमण देखिएको थियो । उनलाई संक्रमण देखिएको भोलिपल्ट थप नौ जनामा पनि कोरोना भाइरस पुष्टि भयो । तेस्रो, चौथौ दिन हुँदै अहिले कचनकवलमा संक्रमित हुनेको संख्या ३३ पुगेको छ ।

भारतबाट घर फर्किएकामा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय त्रसित छन् । ‘त्रासको वातावरण छ । अहिले धेरै मानिस बाहिर निस्किन छोडेका छन्’, कचनकवलका स्थानीय कृष्णकुमार शर्मा भन्छन् । अर्का स्थानीय अनिष गौतमले पनि कचनकवलमा कोरोना त्रास रहेको बताए । भारतबाट भित्रिने क्रम नरोकिँदा जोखिम बढ्दै गएको उनको धारणा छ ।

भारतबाट नेपाल प्रवेश गरेका झण्डै चार सय जना कचनकवलको विभिन्न क्वारेन्टिनमा राखिएका छन् । कतिपय भारतीय नागरिक पनि कचनकवलको क्वारेन्टिनमा छन् । भारतीयलाई राखेकोमा स्थानीयले विरोध पनि जनाउँदै आएका छन् । तर उनीहरुलाई पनि क्वारेन्टिनबाट बाहिर पठाउन सक्ने अवस्था नरहेको वडा नम्वर–२ का अध्यक्ष मेघबहादुर भट्टराई बताउँछन् ।

सीमावर्ती क्षेत्रबाट कचनकवल छिरेकामध्ये अहिलेसम्म एक सय पाँच जनाको मात्रै स्वाब परीक्षण गरिएको छ । अधिकांशको स्वाव परीक्षण गर्न बाँकी रहेकाले क्वारेन्टिनभित्र एक अर्कामा कोरोना संक्रमण हुने जोखिम पनि उत्तिकै छ । अहिले परीक्षण सुरु गरिएको छ ।

भारतीय सीमावर्ती क्षेत्रबाट लुकिछिपी प्रवेश गरेका नेपालीलाई सिधैँ क्वारेन्टिनमा राखिएकाले समुदायमा भने कोरोना फैलिने सम्भावना कम रहेको कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले बताए ।

‘बाहिरबाट हेर्दा जति जोखिम देखिन्छ, त्यति जोखिम छैन’, अध्यक्ष आलमले भने, ‘कोरोना भेटिएका सबै क्वारेन्टाइनमा बसेकाहरु छन् ।’ भारतबाट नेपाल छिरेकालाई सिधैँ क्वारेन्टाइनमा राखिएकाले समुदायमा कोरोनाको जोखिम नरहेको अध्यक्ष आलमले बताए ।

संक्रमितको संख्या बढ्दै गएपछि झापाको कचनकवल गाउँपालिका छ दिनदेखि सिल गरिएको छ । तर, आवतजावत नरोकिँदा संक्रमण फैलिने जोखिम उत्तिकै देखिन्छ ।