‘विपदमा सकारात्मक सन्देश प्रवाहको खाँचो’



 

झापा– विर्तामोडमा आयोजित एक अन्तरक्रियाका सहभागीले विपद्का बेला सञ्चारमाध्यमले विपद् व्यवस्थापनका लागि सहयोगी भूमिका निर्वाह गर्दै सकारात्मक सन्देश प्रवाह गर्नु पर्ने खाँचो औँल्याएका छन् ।

नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन झापा शाखाद्वारा आयोजित विपद्मा सञ्चारमाध्यमको भूमिका विषयक कार्यक्रमका सहभागीहरुले यस्तो खाँचो औँल्याएका हुन् ।

सहभागीले कोरोना संक्रमणका कारण उत्पन्न भएको आर्थिक संकटका कारण सानो लगानीका स्वरोजगारमुलक सञ्चार संस्था संचालन र व्यवस्थापनमा कठिनाई भएको धारणा राखेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले लोकतान्त्रिक मूल्य, मान्यता र संविधानविपरीत कार्य गरिरहेको सरकारका गतिविधिविरुद्ध प्रेसले दरिलो प्रतिपक्षको भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

राजनीतिक दल र प्रेसको भूमिका नङ र मासुको जस्तै रहेको बताउँदै उनले विपदको यस घडीमा मानवीय संवेदनामा सकारात्मक प्रभाव पर्ने खालका समाचारहरु सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

                                                                        तस्वीर–विष्णुकुल श्रेष्ठ

संघीय र प्रदेश सरकारका मन्त्रीहरुले झापामा आउँदा सबै समस्याको तत्काल ब्यवस्थापन गर्ने भनेर आश्वासन दिए पनि झापामा एकपैसा नआएको बताउँदै उनले समुदायको सहयोगबाट कोरोना संक्रमण जोखिम व्यवस्थापन समिति झापाले क्वारेन्टाइन, परीक्षण किट, अलपत्र नागरिकको उद्दार, गरिरहेको जानकारी दिए ।

विपद तथा महामारीमा सञ्चारको भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल प्रेस युनियन झापाका पूर्व केन्द्रीय सदस्य लोकराज ढकालले विपद् व्यवस्थापनका चरण, पूर्व सूचना प्रणाली र विपद्मा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रको भूमिकाका बारेमा बताएका थिए ।

अन्तरक्रियामा कोरोना संक्रमणले सञ्चार संस्था सञ्चालन व्यवस्थापनमा आउन सक्ने समस्याका विषयमा प्रस्तुति राख्दै नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाले प्रविधि र ग्लोवलाइजेसनले परम्परागत सञ्चारमाध्यमहरु संकटमा पर्दै गएको बताए ।

कोरोना संक्रमणले ल्याउने आर्थिक संकटले स्वरोजगारमुलक प्रकृतिका सञ्चारमाध्यमहरु टिकाउन चुनौति रहेको बताउँदै उनले प्रविधिले सञ्चारलाई चुनौति दिइरहेको धारणा राखे । कार्यक्रममा नेपाल प्रेस संगठनका अध्यक्ष मुक्ति पौडेलले पनि शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईले प्रेस युनियनको ऐतिहासिक पक्ष, कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोसाईले गरेका थिए ।