नेपालमा ७७२ जनामा कोरोना संक्रमण



झापा– नेपालका कोरोना भाइरसको संक्रमण दर तीव्र हुँदै गएको छ । दुई सातादेखि संक्रमितको संख्या तीव्र हुँदै गएको हो । मंगलवारसम्म आइपुग्दा नेपालमा ७७२ जना कोरोनाबाट संक्रमित भएका छन् ।

हालसम्म उपचारपछि १५५ जना डिस्चार्ज भएका छन् । तीमध्ये १२४ पुरुष र ३१ जना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ४६ जिल्लामा कोरोना संक्रमित भेटिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले मंगलवार ९० जना संक्रमित थपिएको बताए ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलवार महोत्तरी, जुम्ला, बारा, रौटहट, सिराहा, बाँके, रुपन्देही, अर्घाखाँची, गुल्मी, कैलाली, अछाम, स्याङ्जा, सुर्खेत, दाङ, लगायतका जिल्लामा ९० जना संक्रमित थपिएका छन् ।

कहाँ कहाँ भेटिए ?
रौतहटमा मात्रै २० जना कोरोना संक्रमित थपिएका छन्। सिरहामा चारजना संक्रमित थपिएका छन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा एकजना पुरुष संक्रमित भेटिएका छन्।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा सातजनामा कोरोना संक्रमण देखिएको हो। पोखरामा गरिएको परीक्षणमा स्याङ्जा वालिङका दुईजनामा कोरोना संक्रमण पाइएको छ।

सुर्खेतमा मात्रै १२ जना संक्रमित भेटिएका छन्। बाँकेको नेपालगञ्जमा पनि सातजना संक्रमित थपिएका छन्। बाँकेको डुढुवाबाट चारजना कोरोना संक्रमित भेटिएका छन्। कपिलवस्तुको यशोधराका २४ जना संक्रमित भेटिएका छन्।