झापामा कोरोना संक्रमितको संख्या उच्च, कचनकवलमा मात्रै ४८ जना संक्रमित



 

झापा– भारतीय सीमावर्ती दक्षिणी झापाको कचनकवल गाउँपालिका कोरोना भाइरसको ‘हट स्पट’ बनेको छ । कचनकवलमा एकपछि अर्काे गर्दै कोरोना भाइरसका सङ्क्रमित थपिएका हुन् ।

सुरुमा एक जनामा संक्रमण फेला परेकोमा दोस्रो दिन थप नौ जनामा हुँदै अहिले कचनकवलमा संक्रमितको संख्या ४८ पुगेको छ । झापामा ५४ जना संक्रमित छन् । तीमध्ये दुई जना डिस्चार्ज भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार झापामा १७ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १५ जना कचनकवल गाउँपालिकाका छन् । बाँकी दुई जना गौरादह नगरपालिकाका हुन् ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा काोरोनाको संक्रमण भेटिएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १०४ पुगेको छ । संक्रमितमध्ये २६ जना यसअघि डिस्चार्ज भइसकेका छन् । बुधबार ४ जना डिस्चार्ज भएका छन् ।

देशभर बुधवार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित बुधबार थपिएका हुन् । योसँगै नेपालमा कुल संक्रमित संख्या ८८६ पुगेको छ । उनीहरुमध्ये १८३ जना उपचारपछि निको भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख २ सय ८७ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ५८ हजार २ सय ७७ परीक्षणहरु गरिएका छन् ।