कोरोनाका बिरामी : लक्षण देखिए अस्पतालमा, नदेखिए आइसोलेसन केन्द्रमा उपचार



 

झापा– प्रदेश सरकारले कोरोना संक्रमितको बर्गीकरण गरेर उपचार गर्ने तयारी सुरु गरेको छ । संक्रमितको संख्या थपिँदै गएपछि सरकारले यस्तो तयारी थालेको हो ।

कोरोनाको लक्षण देखिएकालाई मात्र कोभिड अस्पतालमा राखेर उपचार गर्ने सरकारको तयारी छ । लक्षण नदेखिएका संक्रमितलाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने तयारी भएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए ।

‘कोरोना लक्षण देखिएकालाई मात्र कोरोना अस्पतालमा राखेर उपचार गर्छाै’, मन्त्री घिमिरले भने, ‘लक्षण नदेखिएकाहरु धेरै छन् । उनीहरुलाई आइसोलेसन केन्द्रमा राख्न खोजिरहेका छौँ ।’

नेपालमा संक्रमतिमध्ये अधिकांशमा लक्षण देखिएको छैन । रिपोर्ट पोजेटिभ आउने तर लक्षण नदेखिने जस्ता समस्या नेपालका संक्रमितमा छ ।

प्रदेश सरकारले बिरामीलाई वर्गीकरण गरेर उपचार गर्ने तयारीसँगै विभिन्न चार स्थानमा चार सय ५० बेड क्षमताको आइसोलेसन उपचार केन्द्र निर्माण अघि बढाएको छ ।

झापाको दमक, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ, नेपाली सेनाको पूर्वी पृतना इटहरी र सुनसरीको बराह क्षेत्रमा चार सय ५० बेडको आइसोलेसन उपचार केन्द्र तयार भइरहेको छ ।

अहिले विराटनगरमा ७० र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय शय्याको कोरोना अस्पताल सञ्चालनमा छ । झापाको मेची अस्पतालको नयाँ भवनमा पनि कोरोना अस्पताल सञ्चालनको तयारी छ ।