अलैँची निर्यातमा पनि भारतीय अवरोध, व्यवसायी भन्छन्, ‘सरकारले व्याज छुट दिनुपर्छ’



‘चर्को बैंक व्याजका कारण यस क्षेत्रका व्यवसायीहरु धराशायी हुने निश्चित भएको छ’, महासचिव भट्टराईले भने, ‘अलैँची व्यवसायीलाई राहत दिने गरी सरकारले व्याज छुटको कार्यक्रम ल्याउनु पर्छ ।’

झापा– भारतले नेपालमा उत्पादित अलैँची निर्यातमा पनि अवरोध गरेको छ । यसअघि तयारी चिया निर्यातमा पनि भारतीय अवरोध भएको थियो । नेपाली कृषिजन्य उत्पादनलाई भारतले लक डाउनयता प्रवेश दिन मानिरहेको छैन ।

नेपाली कृषिजन्य उत्पादनमा निर्यात अवरोध भइरहे पनि भारतीय मालवस्तु भने काँकडभिट्टास्थित मेची भन्सार नाकाबाट नियमित भित्रिरहेका छन् । खाली ट्रक पनि नपठाउनु भन्ने भारत पश्चिम बंगाल सरकारको उर्दीपछि कुनै पनि सामान भारत निकासी नभएको मेची भन्सार कार्यालयले जनाएको छ ।

कृषिजन्य बस्तुमध्ये निर्यातमा अलैँची सबैभन्दा अग्रपङ्तिमा छ । आर्थिक वर्ष २०७५÷७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची निर्यात हुँदा चार अर्ब बराबरको विदेशी मुद्रा नेपाल भित्रिएको थियो । तर, यसवर्ष भारतीय अवरोधले गोदाममा ४० प्रतिशत अलैँची थन्किएको नेपाल अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका महासचिव सुवास भट्टराई उत्पादित अलैँची निर्यातमा अवरोध हुँदा बैक तथा वित्तिय संस्थाबाट कर्जा लिएर कारोवार गरिरहेका व्यवसायी चर्काे मर्कामा परेको बताउँछन् । ‘चर्को बैंक व्याजका कारण यस क्षेत्रका व्यवसायीहरु धराशायी हुने निश्चित भएको छ’, महासचिव भट्टराईले भने, ‘अलैँची व्यवसायीलाई राहत दिने गरी सरकारले व्याज छुटको कार्यक्रम ल्याउनु पर्छ ।’

घर र गाडी कर्जामा मात्रै व्याज छुट दिने सरकारी नीति व्यवहारिक नभएको संघका अध्यक्ष राजकुमार कार्की बताउँछन् । ‘व्यवसायी र किसानमा छाएको निराशा अन्त्यका लागि पनि तीनै तहका सरकारले मनोबल बढाउने गरी कृषि पुनरुत्थानका कार्यक्रम ल्याउनु पर्छ’, अध्यक्ष कार्कीले भने ।

निर्यातमा भइरहने अवरोधका कारण किसानसँग अहिले पनि १० प्रतिशत अलैँची स्टक छ । आगामी दुई महिनामा नयाँ फसल बजारमा आउन लागेकाले यस्तै अवस्था रहे अलैँची व्यवसाय पूर्णरुपमा धरासायी हुने महासचिव भट्टराई बताउँछन् ।

भन्सार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिर सम्मको पाँच महिनामा २३ लाख १६ हजार ८ सय ८७ किलो अलैँची नेपालबाट विभिन्न मुलुकमा निर्यात भएको छ । जसबाट १ अर्ब ८६ करोड बराबरको आम्दानी भएको तथ्याङ्कले देखाउँछ ।

नेपालमा करिब १४ देखि १५ हजार हेक्टरमा अलैंची उत्पादन हुँदै आएको छ । उत्पादित अलैंची भारत, चीन, कतार, युएई लगायत देशमा निर्यात हुँदै आएको छ । त्यीमध्ये भारतले नेपालबाट धेरै मात्रामा अलैंची खरिद गर्छ । नेपालमा कुल उत्पादनको दुई प्रतिशत मात्र खपत हुन्छ भने बाँकी ९८ प्रतिशत अलैंची बाह्य मुलुकमा निर्यात हुँदै आएको छ ।