यस्ता थिए गणतन्त्र आउनु अघिका राजनीतिक घटना



 

झापा–मुलुकमा गणतन्त्र घोषणा भएको १२ वर्ष पुगेको छ। २०६५ जेठ १५ मा बसेको पहिलो संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्षे राजतन्त्र अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गरेको थियो।

तत्कालीन अवस्थामा कुन–कुन राजनीतिक घटनाक्रमले नेपालमा गणतन्त्र आउन सफल भयो त ? नेपाल समयका अनुसार गणतन्त्र आउनुअघिका केही प्रमुख राजनीतिक घटनाक्रम यस्ता छन्–

२०५९ असोज १८ मा राजा ज्ञानेन्द्रद्वारा संसदीय निर्वाचन गराउन नसकेको भन्दै लोकतान्त्रिक ढंगले निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई पदच्युत गरी सूर्यबहादुर थापालाई प्रधानमन्त्रीमा नियुक्त ।

२०६१ माघ १९ मा राजा ज्ञानेन्द्र शाहबाट शाही घोषणामार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी शासन सत्ता ग्रहण ।

२०६२ मंसिर ७ मा तत्कालीन सात दल र विद्रोही माओवादीबीच १२ बुँदे सम्झौता ।

२०६२ चैत २४ देखि देशव्यापी जनआन्दोलन ।

२०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रद्वारा प्रतिनिधिसभा पुनर्स्थापना ।

२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता ।

२०६३ चैत १८ गते माओवादी अन्तरिम सरकारमा सामेल ।

२०६४ पुस १३ अन्तरिम संविधानमा तेस्रो संशोधन गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम ।

२०६४ फागुन १६ गते सरकार र मधेसी मोर्चाबीच सहमति ।

२०६४ चैत २८ संविधानसभा चुनाव ।

२०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको प्रस्ताव पारित ।

२०६५ जेठ २९ गते साँझ नारायणहिटीबाट ज्ञानेन्द्रको बहिर्गमन ।