झापामा फैलिँदै कोरोना, १०७ जनामा संक्रमण



बिर्तामोड– झापामा कोरोना संक्रमण तीब्र हुँदै गएको छ । शुक्रवार पनि २८ जना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

तीमध्ये एक जना संक्रमित भद्रपुरका हुन् । बाँकी २७ जना झापाको दक्षिणी कचनकवल गाउँपालिकाका हुन् । बिहीवार पनि कचनकवलका २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार कोशीमा परीक्षण गर्दा २७ जनाको पोजेटिभ देखिएको हो । धरानमा गरिएको परीक्षणमा एक जनामा पोजेटिभ देखिएको हो ।

कचनकवल कोरोना भाइरसको केन्द्र बनेको छ । भारतबाट प्रवेश गरेका स्थानीयमा संक्रमण देखिएको हो । कचनकवलमा मात्रै संक्रमितको संख्या एक सय पुगेको छ ।

भारतबाट भित्रिने क्रम जारी रहेको र परीक्षणमा पठाइएकाहरुको रिपोर्ट आउने क्रम जारी रहेकाले त्यहाँ संक्रमित थपिने सम्भावना पनि उत्तिकै छ । नयाँ थपिएकासँगै झापामा संक्रमितको संख्या १०७ पुगेको छ ।