‘मेची अस्पतालसँग जोडेर कोरोना अस्पताल बनाउन दिँदैनौँ’



मेची अस्पतालको निर्माणाधीन भवन । तस्वीर–विष्णुकुल श्रेष्ठ

भद्रपुर– मेची अस्पतालसँगै कोरोना अस्पताल सञ्चालन गर्ने दलीय निर्णय कुनै पनि हालतमा कार्यान्वयन नहुने अडान भद्रपुरका स्थानीयले राखेका छन् । आइतवार पत्रकार सम्मेलन गरी उनीहरुले मेची अस्पतालको निर्माणाधीन भवन कोरोना अस्पताल सञ्चालनका लागि उपयुक्त नभएको जिकिर गरे ।

जिल्ला समन्वय समिति, स्थानीय प्रशासन र झापाका राजनीतिक दलले गरेको सिफारिसपछि प्रदेश सरकारले मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना अस्पताल र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसिआर परीक्षण प्रयोगशाला बनाउने तयारी गरेको थियो । यसमा स्थानीय नागरिक अगुवाको असहमति छ ।

भद्रपुरमा कोरोना अस्पतालको खाँचो भए पनि अहिले छनोट भएको भवनले मेची अस्पतालको सेवामा दीर्घकालिन प्रभाव पार्ने स्थानीय बासिन्दा समेत रहेका झापाका अग्रज पत्रकार गोपाल गिरी बताउँछन् । ‘तत्काल कोरोना अस्पतालको खाँचो छ । भद्रपुरमा बनाउनु पर्छ, तर मेची अस्प्तालसँग जोडेर बनाउँदा यसको प्रभाव नकारात्मक पर्छ’, पत्रकार गिरीले भने ।

मेची अस्पतालमा सेवा लिन आउनेहरु गरिव, विपन्न र पिछडिएको बर्गका नागरिक बढी भएको जनाउँदै पत्रकार गिरीले कोरोना अस्पताल पनि एकै ठाउँ हुँदा यसको अस्तित्व धरापमा पर्ने तर्क गरे । सेवाग्राहीमा पर्ने मनोबैज्ञानिक त्रासको विश्लेषणविना मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना अस्पताल बनाउनु हुँदैन’, उनले भने, ‘अरु धेरै भवन विकल्पमा छन् ।’

स्थानीयले भद्रपुर–१० स्थित कलवलगुरी प्रशिक्षण केन्द्रको भवन, चन्द्रगढीमा रहेको खाद्य गोदाम, निर्माणाधीन गिरिजाप्रसाद स्मृति सभा गृह वा निर्माणको अन्तिम चरणमा रहेको भद्रपुर नगरपालिकाको नयाँ भवनमध्ये एक स्थानमा कोरोना अस्पताल सञ्चालन गरिनुपर्ने माग राखेका छन् । स्थानीयको मागका विषयमा भद्रपुर नगरपालिका भने मौन छ ।

भद्रपुर–८ का वडाध्यक्ष गौरव सुब्बा बैकल्पिक भवनमध्येमा कोरोना अस्पताल बनाउन सहयोग गर्ने बताउँछन् । उनले मेची अस्पतालसँग जोडेर कोरोना अस्पताल सञ्चालन नहुने बताए । प्रभावित क्षेत्रभित्र पर्ने भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्कीले मेची अस्पतालको सेवा प्रभावित हुने गरी निर्माणाधीन भवनमा कोरोना अस्पताल बनाउन नहुने बताए ।

मेची अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष छत्रप्रसाद अधिकारी कोरोना संक्रमण त्रासका कारण अस्पताल भवनको विवाद आएको नभएर निर्माणाधीन भवनको उपयोगिता केका लागि थियो भन्ने प्रश्नको चित्तबुझ्दो जवाफ खोज्ने क्रममा स्थानीय विरोधमा उत्रिएको बताए ।

कोरोना अस्पताल विवाद समाधान समितिका संयोजक भक्त खवासको अध्यक्षतामा भएको सम्मेलनमा मेची बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष प्रा. डा. पृथ्वीविक्रम राईले निर्माणाधीन भवनको सम्पूर्ण काम सम्पन्न गर्न महिनौँ लाग्न सक्ने अवस्थामा निर्माण सम्पन्न भएका बैकल्पिक भवनहरू मध्येमा अस्पताल बनिनु पर्ने धारणा राखे ।