बोल्न नसकेको एउटा पीडा : ‘महिनावारी’



 

अस्मिता साँखी
मैले धेरै पटक बोल्न चाहेर पनि बोल्ने ठाउँ नै भेट्टाएकी थिइँन । मलाई बोल्न अफ्ठ्यारो लागिरहेको थियो । महिनैपिच्छे म आफैंले भोग्दै आएको अफ्ठ्यारोको विषयमा पनि बोल्ने आँट गरेकी थिइँन । किनकि, म पनि छोरी नै भएर जन्मिएको छु ।

म जस्ता लाखौँ छोरीहरुको पीडा बोल्न पनि मैले हिच्किचाउनु पर्ने अवस्था कसले बनायो होला ? निःसन्देह यो समाजले बनाएको हो । यो समाजको अगाडि मैले बोल्न चाहेर पनि बोल्न नसकेको पीडा हो, महिनावारी अर्थात् रजस्वला ।

मलाई लाग्छ, हिजोका मानिसहरुले हिजोकै समाजलाइ मिल्ने नियम बनाएका थिए होला । पहिला धारा पधेँरा टाढा थिए, पानी बोकेर ल्याउन कठिन थियो । ब्यक्तिगत सरसफाइ गर्नुपर्छ भन्ने चेतना कमजोर थियो होला ।

महिनावारी भएको बेला महिलाहरु कमजोर हुन्छन, सरसफाइमा पनि त्यसबेला विशेष ध्यान पुर्याउनु पर्ने भएकाले पनि भान्साको काम गर्न नहुने भन्ने नियम बनाइएको हुनसक्छ । यस्ता नियमहरुले कतिपयलाई यस्तो बेला सजिलो पनि बनाइरहेको थियो होला ।

महिनावारीमा महिलाहरुले बार्ने कुरादेखि लिएर के गर्न हुन्छ के गर्न हुँदैन भन्ने कुरा त्यसबेलाको समाजको लागि जायज मान्न पनि सकिन्थ्यो होला । तर, के आजको समयमा त्यो सान्दर्भिक छ ? व्यवहारिक छ ? अवश्य पनि छैन । यस्तो नियमले गर्दा महिलाहरुको दैनिकीलाई अफ्ठ्यारो बनाइदिएको छ ।

महिनावारी भएको बेला खान, बस्न, काम गर्नदेखि लिएर प्रयोग गर्नुपर्ने सामानमा पनि समाजको साँघुरोपन र बन्धनले कति धेरै अफ्ठेरो बनाइदिएको छ । महिनावारीको समयमा महिलाहरू अझै पनि आफ्नै घर परिवार र समाजसँग खुल्न सक्दैनन । यस्तो बेलामा खानेकुरा छुन हँुदैन, मान्छेहरुदेखि टाढा नै बस्नु पर्छ, अछुत बन्नुपर्छ । जुनबेला परिवार र समाजबाट झन् धेरै आत्मीयता, सहयोग र मायाको खाँचो हुन्छ । त्यही बेला झन् अफ्ठ्यारोमा पारिन्छ ।

अझै पनि महिनावारीको बेला अति आवश्यक पर्ने ‘प्याड’ शब्द पनि खुलेर उच्चारण गर्न सक्दैनन् । पेट दुखेर सहन नसक्ने अवस्थामा मैले के गर्न हुन्छ के गर्न हँुदैन भनेर डराउनु पर्छ । उनीहरु खुलेर भन्न सक्दैनन् कि मलाइ पेट दुख्यो त्यसैले म यो काम गर्न सक्दिन । समाजको नियम कस्तो छ भने उनीहरुले खानेकुरा छुनदेखि बाहेक अरु बाहिरी कामहरु चैँ गर्न हुन्छ अझ गर्नै पर्ने बाध्यता पर्छ ।

मन्दिर जान त रोक नै लगाउँछ यो समाज । भगवान् भन्ने चिज आजसम्म देखेको छैन । तर, पनि मानिस ढुंगाको मूर्ति बनाउँछ अनि हामीले छुँदा गाली गर्छ । अचम्म त यो लाग्छ कि, किन धेरै पढेका विद्वानहरु पनि यो विषयमा केही बोलि दिँदैनन् ? किन मौन छन् किन ?

संसारभरि सबै महिलाहरुलाई हुने कुरा हो महिनावारी । मात्र यो प्रक्रिया चलाउने र श्रृष्टि निरन्तरताको आधारभूत पहिलो रुप हो । तर, हाम्रो नेपाली समाजमा महिनावारी, अपराध जस्तो हुन्छ, छुवाछुत हुन्छ किन ? मैले नै सुनेको छु, अनि मलाई भनेका पनि छन् महिनावारी हुँदा नछुने भको भनेर । अनि यो सुनिरहँदा पनि बुझेका अगुवाहरु मौन नै बस्छन् किन ? यसरी पनि कसरी हुन्छ परिवर्तन ?

मलाई एउटा प्रश्न सोध्न मन लाग्यो । जनचेतना छर्दै हिँड्ने अगुवाहरुलाई, के तपाईहरुको श्रीमती, दिदिबहिनी, भाउजु बुहारीलाई महिनावारीको समयमा तपाईंहरु सबैले छुनु भएको छ ? सँगै बसेर खानेकुरा खानु भएको छ ? पक्कै खानु भएको छैन, अनि कसरी हुन्छ परिवर्तन ? अझै कति पुस्ताले यो अफ्ठ्यारा भोग्नु पर्ने हो ? किन मौन छन् हाम्रो समाजको विद्वानहरु ? यो मौनताले कसरी हुन्छ परिवर्तन ?

के महिनावारी बिना मानव अस्तित्व सम्भव छ ? के फूल नफुली फल लाग्न सम्भव छ ? अवश्य छैन । जुन बेला महिला प्रकृति बन्छे, मानव अस्तित्वको मुल बन्छे । सृष्टि बन्छे । हो त्यहीबेला झन् विभेद गर्छ समाज । झन पीडा दिन्छ समाज । यस्तो बेला झन् धेरै नजिक हुनुपर्ने हो । झन् धेरै सहानुभूति पाउनुपर्ने, माया पाउनुपर्ने हो । तर अझै पनि छाउपडी गोठमा बलात्कृत हुन बाध्य छे । पीडा सहेर मर्न बाध्य छे ।