मेचीनगरका एक हजार भन्दाबढी बालबालिका खोपको पहुँचबाहिर



 

झापा– बालबालिकाका लागि खोप अनिवार्य छ । तर मेचीनगर नगरपालिकाका एकहजार भन्दाबढी बालबालिका अझै पनि खोपको पहुँच भन्दाबाहिर छन् । खोप अनिवार्य भए पनि नगरपालिकाले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन सकिरहेको छैन ।

एक पटक खोप लगाए पनि अर्काे पटक अभिभावकले खोप लगाउन नल्याउँदा बालबालिकाको स्वास्थ्य जोखिममा पर्ने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका सह संयोजक रामनारायण यादव भन्छन्, ‘खोपका विषयमा अभिभावक आफैँ सचेत छैनन् ।’

मेचीनगरभित्रका एक हजार ५२ जना बालबालिकाले पूर्ण खोप नलिएको सह संयोजक यादवले बताए । स्वास्थ्य मन्त्रालयले १ वर्षमुनिका दुई हजार सात सय ६४ जना बालबालिकालाई खोप लगाउन स्वास्थ्य शाखालाई लक्ष्य दिएको छ ।

तर, मेचीनगरका एक हजार १२ जना बालबालिकाले मात्र पूर्ण खोप लिएको सह संयोजक यादवले जानकारी दिए । मेचीनगरको धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र, दुहागढी, धाइजन, बाहुनडाँगी, ज्यमिरगढी र काँकरभिट्टा स्वास्थ्य चौकीमा खोप सेवा उपलब्ध छ । धुलावारी प्राथमिक स्वास्थ्य केन्द्रबाट मात्रै शत प्रतिशत बालबालिकाले खोप लिएका छन् ।

नगर प्रमुख बिमल आचार्यले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन नगरपालिका गम्भीर रहेको बताए । ‘यसका लागि महिला स्वयम्सेविकालाई पनि हामीले भनिरहेका छौँ’, उनले भने । उपप्रमुख मीना पोखरेलले कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित गर्न नहुने बताइन् ।