सरकारलाई झापाका व्यवसायीको चुनौति : जेठ २४ गतेदेखि बजार खोल्ने निर्णय



झापा– झापाका उद्योगी व्यवसायी पूर्ववत अवस्थामा व्यापार व्यवसाय सञ्चालन गर्ने निष्कर्षमा पुगेका छन् । कोरोना भाइरसको सन्त्रासका बीच झापाका उद्योग वाणिज्य संघले नियमित बजार खोल्ने निर्णय गरेका हुन् । लक डाउन लम्बिएको भन्दै उनीहरुले जेठ २४ पछाडि त्यसको उलङ्घन गर्ने घोषणा गरेका छन् ।

मंगलवार मेचीनगर उद्योग बाणिज्य संघको आयोजनामा उद्योग बाणिज्य संघका अध्यक्ष प्रतिनिधि र केन्द्रिय सदस्यहरुको उपस्थितिमा भएको बैठकले अब बन्द स्वीकार नगर्ने निर्णय गरेको हो ।

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बन्द लम्बिएका कारण उद्योग व्यवसाय धरासायी भएको बताए । ‘अब सुरक्षितरुपमा व्यापार व्यवसाय चलाउनुको विकल्प् छैन’, उनले भने, ‘जेठ २४ गतेदेखि बजार खुल्छ ।’

बैठकले बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म बजार खोल्ने व्यवस्था मिलाई दिन प्रशासनसँग अनुरोध गरेको छ । जेठ २३ गतेसम्म कुनै निर्णय नभए २४ गतेदेखि स्वत सबै व्यवसाय खुल्ला गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।