धैर्यको बाँध नफुटोस्



 

 

सन्तोष अग्रवाल
लगभग अढाई महिनादेखि चलिरहेको लकडाउनका कारण रोगले भन्दा भोकले मर्ने डर सर्वसाधारणमा बढ्न थालेको छ । सर्वसाधारणको जीविका अत्यन्तै अप्ठ्यारो स्थितिमा पुगिसकेको छ । छिमेकी मुलुक भारतमा लकडाउनको स्वरुप परिवर्तन गरी ‘अनलक १’ सुरु भइसकेको छ । नेपालमा पनि सामाजिक दूरी कायम राख्दै आवश्यक सावधानीका उपायहरु अपनाई उद्योगधन्दा, व्यवसाय, कलकारखाना सुचारु गर्न ढिला गरेमा कोरोना भाइरसको महामारीभन्दा पनि भोकमरी तथा मानसिक रोगीहरुको संख्या बढ्न सक्ने निश्चितप्रायः छ ।

देशको आर्थिक गतिविधि ठप्प रहेको बेला सरकारबाट केही राहत पाउने आशा गरेको व्यवसायी जगतलाई नयाँ बजेटले पनि केही राहत दिन सक्ने देखिँदैन । बरु सरकारले ठप्प रहेकै व्यवसायको अवधिको सीमित अवधिभित्रै भ्याट, आयकर बुझाउने सूचनाले व्यवसायी जगतलाई झन् अप्ठ्यारोमा पारिदिएको छ । यसै कारण ठाउँ ठाउँमा लकडाउन उल्लङ्घनका घटना पनि बाक्लिन थालेका छन् । सर्वसाधारणको जीविका नै बन्द भएकाले स्थिति विष्फोटक हुनुपूर्व आवश्यक सावधानी अपनाई लकडाउन खुकुलो पार्नुको कुनै विकल्प देखिँदैन ।

सर्वसाधारणले पनि कोरोनासँगै जिउन लगभग सिकिसकेका छन् । लकडाउन मात्र बढाउने, जाँचको दायरा नबढाउने हो भने नेपालमा १० वर्षमा पनि कोरोना नियन्त्रण हुनुको साटो झन्झन् बढ्ने छ । सरकारले कत्ति पनि ढिला नगरी जनभावनाको उचित कदर गर्नु नै बुद्धिमतापूर्ण निर्णय हुनेछ । कोरोनाभन्दा पनि अन्य दीर्घ रोगीहरु (क्यान्सर, मुटु, मिर्गौलालगायत)ले समयमा औषधि र उपचार गर्न नपाउँदा अकालमै मृत्युवरण गर्नु परिरहेको अवस्था छ भने व्यापार, व्यवसाय गर्नेको स्थिति दिनदिनै दयनीय बन्दै गएको छ । यस्तो बेलामा समेत सरकारले कर बुझाउने उर्दी जारी गरेर घाउमा नून छर्ने काम गरेकोले व्यवसायी जगत झन् त्रसित र आक्रोशित बनेका छन् ।

नेपाल चेम्बर अफ कमर्सले सरकारलाई लकडाउन खोल्न अपनाउनुपर्ने सावधानीका बारेमा विज्ञहरुको राय बमोजिम तालिका समेत बनाएर बुझाएको छ । जसमा देशलाई हरियो, पहेँलो र रातो क्षेत्र (Green, Yellow & Red Zone ) बनाई तीन भागमा विभाजन गरेर कुन–कुन क्षेत्रमा के–के गतिविधि सञ्चालन गर्न सकिने ठोस राय समेत बुझाएको छ । सरकारले अझ यसमा विज्ञहरुसँग सल्लाह गरी थप परिमार्जन गरी लकडाउन खुकुलो बनाउन ढिलो गर्नै हुँदैन ।

देशमा सीमा क्षेत्रबाट अवैध घुसपैठ रोक्न आफ्ना नागरिकलाई स्वदेश फिर्तीको सुरक्षित वातावरण (सीमामै चेकजाँच गरी) बनाउन नसके देशमा कोरोना भित्रिने क्रम रोकिने छाँटकाँट देखिँदैन । बरु सुरक्षित तरिकाले नागरिकलाई भित्र्याउन सके आवश्यकताअनुसार क्वारेन्टाइन, होम क्वारेन्टाइन, आइसोलेसनमा राख्न पहल गर्नु पर्दछ । यसका लागि सीमा क्षेत्रमा आवश्यक उपकरणसहित पीसीआर टेस्टिङ, ल्याबको व्यवस्था गरिन जरुरी छ ।

नागरिकलाई घरभित्र थुनेर मात्र कोरोनाको जोखिमबाट बच्न सकिँदैन । परीक्षणको दायरा र संख्या अहिलेकै रफ्तारमा चल्ने हो भने वर्षौं लाग्न सक्छ । गरिखाने श्रमजीवीहरुको हालत समेत दिनप्रतिदिन दयनीय बन्दै गइरहेको छ । मध्यम वर्गको हालत झन् झन् बढेर आत्महत्या गर्नेहरु बढिरहेका छन् । विज्ञहरुको भनाइअनुसार अब यही ढाँचाको लकडाउन मात्र लम्ब्याइरहने हो भने देशको अर्थतन्त्र नै तहसनहस हुने स्थितिमा छ ।

तसर्थ, धैर्यको बाँध फुट्नु अगावै अविलम्ब लकडाउन खुकुलो बनाउन निजी क्षेत्र र विज्ञहरुले दिएको सुझाव मनन् गर्नु नै बुद्धिमतापूर्ण निर्णय हुनेछ । यदि समयमै उचित निर्णय गर्न नसकिएमा कुनै बेला पनि देशमा लकडाउन उल्लङ्घन भई स्थिति नियन्त्रण बाहिर जान सक्नेछ ।चेतना भया ।