‘एकका लागि एक’ अभियानद्वारा झापामा पिसिआर परीक्षण प्रयोगशाला बनाउने घोषणा



सुब्रत न्यौपाने

बिर्तामोड– झापामा कोरोना भाइरसको परीक्षणका लागि जनस्तरबाट बैकल्पिक पिसिआर परीक्षण प्रयोगशाला बनाउने तयारी सुरु भएको छ । लक डाउनका बीच झापामा संस्थागत भएको ‘एकका लागि एक’ अभियानले पिसिआर परीक्षण प्रयोगशाला बनाउने औपचारिक घोषणा गरेको हो ।

बिर्तामोडमा बुधवार ‘एकका लागि एक’ अभियानका साझेदार संस्थाको बैठकले यस्तो निर्णय गरेको अभियानका परिकल्पनाकार महेन्द्रकुमार गिरीले बताए । ‘कोरोना परीक्षणको दायरालाई अझै फराकिलो बनाउन झापामा पिसिआर परीक्षण प्रयोगशालाको खाँचो छ’, अभियानका संयोजक समेत रहेका गिरीले भने ।

‘एकका लागि एक’ अभियानका साझेदार संस्थाको बिर्तामोडमा बुधवार भएको बैठक ।

प्रयोगशाला स्थापना गर्न करिब एक करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । अभियानले पिसिआर परीक्षण प्रयोगशाला स्थापनामा सघाउन देश विदेशमा रहेका नेपाली र शुभेच्छुकहरुलाई अपिल पनि गरेको छ ।

झापामा सरकारी तहबाट एउटा पिसिआर परीक्षण प्रयोगशाला बनाउने तयारीका बीच अभियानले पनि अर्काे प्रयोगशाला बनाउन अग्रसरता देखँएको हो । सरकारी तहबाट झापाको भद्रपुरमा पिसिआर परीक्षण प्रयोगशाला बनाउने तयारी छ ।

अभियानले भने झापाको बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकामध्ये कुनै एक ठाउँमा बैकल्पिक पिसिआर परीक्षण प्रयोगशाला बनाउने संयोजक गिरीले बताए । ‘अभियानले प्रयोगशाला बनाइदिने हो । सञ्चालन भने तीनवटा नगरपालिकाको समन्वयमा हुन्छ’, संयोजक गिरीले भने ।

पिसिआर परीक्षण प्रयोगशाला निर्माणमा अन्तर्राष्ट्रिय झापाली समाज र जिल्ला सहकारी संघ झापाले पनि सघाउने गिरीले बताए । पहिलो चरणमा विपन्नलाई राहत बाँडेको अभियानले दोस्रो चरणमा सडकमा आश्रितहरुलाई खाना बाँडेको थियो ।

तेस्रो चरणमा अभियानले होल्डिङ सेन्टरमा बसेकाहरुलाई खाना खुवाउनुका साथै परीक्षणका लागि चाहिने भिटिएम कीट उपलब्ध गराइरहेको छ ।