झापामा थप पाँच जनामा कोरोना संक्रमण



बिर्तामोड–झापामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भद्रपुरको क्वारेन्टाइनमा बसेका तीन जना र कचनकवलको क्वारेन्टाइनमा बसेका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या १२३ पुगेको छ । भद्रपुरको कलबलगुडी क्वारेन्टिनमा बसेका भद्रपुर–१ का ५६ वर्षीय पुरुष र वडा नम्वर –३ का १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

कलवलगुरीकै क्वारेन्टिनमा बसेका कचनकवल–६ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै भारतबाट आएको भद्रपुर नगरपालिकाले जनाएको छ ।

यसअघि भद्रपुरको क्वारेन्टाइनमा बसेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पनि भारतबाटै आएका थिए । कचनकवलको पथरिया माविको क्वारेन्टिनमा बसेकाहरूको दोस्रोपटक स्वाब परीक्षण गर्दा थप दुईजनामा संक्रमण पुष्टि भएको हो ।

वडा नम्वर– ६ का १७ वर्षीय पुरुष र वडा नम्वर–४ २५ वर्षीय पुरुषमा संक्रमण देखिएको कचनकवल गाउँपालिकाले जनाएको छ । कचनकवलमा मात्रै संक्रमितको संख्या १०२ पुगेको छ ।