साढे चार करोड लागतमा बिर्तामोड–१ को जगत बस्ती सडक कालोपत्रे हुँदै



 

 

बिर्तामोड– पूर्व पश्चिम राजमार्गबाट उत्तर बिर्तामोड वडा नम्वर १ को जगतमार्ग कालोपत्रे सुरु भएको छ । जगतमार्गको ११ सय ५० मिटर सडक कालोपत्रे हुन लागेको हो । बिहीवार बिर्तामोड नगरकी उपप्रमुख पवित्रा महतराले सडक निर्माणको शिलान्यास गरेकी छन् ।

अतिथि सदनबाट पश्चिम जाने सडकको पनि पुनर्निर्माण हुने भएको छ । अतिथि सदनबाट पश्चिमको ५५० मिटर सडकमा भने पेवर्स बिछ्याइने वडा अध्यक्ष अग्निप्रसाद पाण्डेले बताए । दुई वटा सडकको निर्माणका लागि चार करोड ५१ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।

सङ्घीय सरकारको समपुरक अनुदानबाट प्राप्त रकम र नगरपालिका समेतको लगानीमा सडक कालोपत्रे हुन लागेको वडाध्यक्ष पाण्डेले जानकारी दिए । बिर्तामाड–५ को सरोज निर्माण सेवाले मंसिर मसान्तभित्र बनाइसक्नु पर्ने गरी सडक निर्माणको जिम्मा पाएको छ ।

सडक निर्माणको नियमित अनुगमनका लागि हरिप्रसाद ओझाको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति पनि गठन भएको छ । समितिको सदस्यमा कूलप्रसाद खरेल, राजेन्द्र बस्नेत, राजु बस्नेत, अर्जुन साउदेन, हाइकुमार राई, त्रिलोचन प्रसाईं, नगेन्द्र बस्नेत, प्रकाश खतिवडा, सन्तोष कडरिया र देवकला बराल छन् । त्यस्तै, कानुनी सल्लाहकारमा राजेन्द्र खनाल र कोपिला बस्नेत छन् ।