स्वास्थ्य संकटकाल घोषणाको तयारी



 

झापा–कोरोना भाइरसको संक्रमणबाट तीन सातामा १० जनाको मृत्यु भएको र संक्रमितको संख्या २५ सय नाघेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा जनस्वास्थ्य विपद् घोषणाका लागि आवश्यक गृहकार्य गरेको छ। मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेपछि मुलुकमा आपत्काल लागू हुनेछ।

स्वास्थ्य मन्त्रालयले विपद् घोषणाका लागि प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गर्ने जनाएको छ। जनस्वास्थ्य विपद्को प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

एकभन्दा बढी प्रदेशमा कुनै विपद् सिर्जना हुन गएमा सरकारले जनस्वास्थ्य विपद् घोषणा गर्न सक्ने कानुनी व्यवस्था छ। कोरोनासँग सम्बन्धित हेल्थ सेक्टरको इमरजेन्सी रेस्पोन्स प्लानअन्तर्गत दुई हजारभन्दा बढी सक्रिय संक्रमित भए पब्लिक हेल्थ इमरजेन्सी घोषणा गर्न सकिने प्रावधान रहेको डा. देवकोटाले बताए।